काठमाडौं । बालिका बलात्कारको घटनामा गलत प्रतिवेदन (मेडिकल रिपोर्ट) दिने दुई डाक्टरलाई रिहा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
बालिका बलात्कार मुद्दामा गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई अनुसन्धानका लागि थुनामा राखिएकोमा संघले विरोध जनाएको हो । परीक्षणको क्रममा हुन गएको त्रुटीमा मेडिकल काउन्सिलले अनुसन्धान गरी कारबाही गरिसकेको र उक्त मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै रिहाइ गर्न शनिबार प्रेस विज्ञप्ति जारी गर्दै माग गरेको हो ।
इलाका प्रहरी कार्यालय, खजुरी, धनुषाले गरेको अनुसन्धानमा १२ वर्षिया बालिकाको बलात्कारसम्बन्धी स्वास्थ्य परीक्षणमा गलत रिपोर्ट दिएको पाइएको थियो । सोही आरोपमा उनीहरूको लाइसेन्स समेत रोक्का गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरूलाई सरकारी चिकित्सकको पद दुरूपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा पक्राउ गरी मुद्दा दायर गरेपछि चिकित्सक संघ रुष्ट बनेको हो ।
२०७५ भदौ ८ गते जवरजस्ती करणी पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत रिपोर्ट दिएको भन्दै यसअघि नै सरकारी वकिलको कार्यालयले निलम्वन गर्न सिफारिस गरेपछि उनीहरू कारबाहीमा परेका थिए । नेपाल मेडिकल काउन्सिलले २५ असोजमा उनीहरूलाई निलम्वन गरेको थियो ।
काउन्सिलको अर्को निर्णय नआउँदासम्म दुबै डाक्टरले चिकित्सकीय अभ्यास गर्न रोक लगाएको छ । २०७५ भदौ २५ गते जिल्ला अस्पताल सिराहामा गरिएको पीडित बालिकाको स्वास्थ्य परिक्षण प्रतिवेदनबाट उनीहरूले गलत प्रतिवेदन दिएको देखिएको थियो । जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरू सिंह र गोइतले बालिकाको स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले संवेदनशील रूपमा न्यूनतम गर्न सक्ने र गर्नुपर्ने काम समेत नगरी चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित पारेको आरोप लगाइएको छ ।
बलात्कार भएकी बालिकाको बलात्कार नभएको भन्दै डा. सिंह र डा. गोइतले अभियुक्तको पक्षमा रिपोर्ट बनाएपछि काउन्सिलले छानबिन समिति बनाएको थियो । प्रा.डा. हरिहर बस्ती, डा. कालुसिंह खत्री, डा. मधु तुम्बाहाम्फे र स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपाल समितिमा थिए ।
प्रतिक्रिया