‘एमाले’ नपसाउँदा कृषकलाई चिन्ता

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीको पोखराचौरमा कृषकहरूले रोपेको ‘लोकतन्त्र’ जातको धानले धोका दिएको छ ।

कृषकहरू माझ ‘एमाले’ जात भनेर पनि चिनिने ‘लोकतन्त्र’ धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिस गरेको भए पनि धानको बाला नलागेका कारण कृषकहरू पीडित बनेका छन् । कृषि प्राविधिकहरूले अन्य धानको तुलनामा दोब्बर फल्ने भन्दै अनुदानमा बिउ बाँडेको भए पनि अहिले धान थन्क्याउने वेला भइसक्दा पनि बाला नलागेको स्थानीय सूर्यप्रसाद भुसालले बताए ।

धान रोपेको समयमा बेर्ना निकै राम्रो भएको र ठूलो गाँज हालेको भए पनि अहिलेसम्म धान नपसाउँदा नागरपालिकाका प्राविधिकहरूलाई खबर गरिएको कृषकहरूको भनाइ छ । पोखराचौर क्षेत्रको किसानहरूले झन्डै सय रोपनी खेतमा ८० किलो ‘लोकतन्त्र’ धानको बीउ रोपेका थिए ।

सधैँ पानीको अभाव भएर पिउने पानीसमेत नपाउने पोखराचौरको धान फल्ने मुख्य फाँट नै आँगाखेत हो । तर, त्यही फाँटमा लगाईएको धान नै नपसाएपछि कृषकहरूले एक वर्षको लागि खाने अन्नको जोहो कसरी गर्ने ? भन्दै गुनासो पोखेका छन् ।

अन्य जातको धान रोपिएको खेतमा धान झुलेर पहेँलपुर भएको भए पनि नगरपालिकाले नै सिफारिस गरेको धान लगाएका कृषकहरू अझै पनि धान पसाउँछ कि भन्ने आशामा छन् । पोखराचौरमा अघिल्लो वर्ष पनि यो धान लगाइएको र उत्पादन राम्रो भएको प्राविधिक कृष्ण तिवारीको भनाइ छ ।

प्रतिकिलो ६० रुपैयाँ पर्ने ‘लोकतन्त्र’ जातको धानको बीउ नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरूले प्रतिकिलो ३० रुपैयाँमा खरिद गरेका थिए । धानको बिउ सिफारिस गरेको फलेवासको नगर कृषि कार्यालयका प्राविधिक ढाकाराम सुवेदीले यसवर्ष धान ढिलो रोप्नु र मौसममा छिट्टै बदली हुनु लगायतका कारणले धानमा बाला नलागेको बताएका छन् ।

प्रतिक्रिया