पैसाको लोभमा महिलाको हत्या

मीना बुढाथोकी, सल्यान । सल्यानको शारदा नगरपालिका–८ मार्केको सिमखर्कमा ५० वर्षीया केवली नेपालीको हत्या गर्ने युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । चोरी गर्ने उद्देश्यले महिलाको घरमा गएर हत्या गर्ने शारदा नगरपालिका–८ सिमखर्क बस्ने १९ वर्षीय राजु भनी चिनिने वीरबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । २५ असोज राति ती युवकले महिलाको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।

पतिको मृत्युपश्चात् मृतक नेपाली लामो समयदेखि तीन छोरा र दुई छोरीसँग भारतमा बस्दै आएकी थिइन् । दसैँ मनाउन २२ असोजमा उनी घर फर्किएकी थिइन् । भारतबाट दसैँ मनाउन आएकाले ती महिलासँग धेरै पैसा हुनसक्छ भनी चोरी गर्न गएका ती युवकले त्यहाँबाट मात्र दुई सय रुपैयाँ फेला पारेका थिए । पैसा चोर्न गएको अवस्थामा डोरीले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको सल्यान प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

केवली नेपाली आफ्नै घरकोठमा मृत अवस्थामा फेला परेको भन्ने टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ जिल्लाबाट प्रहरी घटनास्थलमा पुगेको थियो । हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर प्रयोग गरिएको थियो । अभियुक्तलाई प्रहरीले २६ असोजमा गिरफतार गरेको थियो ।

 

‘मैले पैसा चोर्न भनी मृतक नेपालीको घरमा गई एक हातले चक्कु र अर्को हातले घाँटी समाई पैसा देऊ भनी माग्न खोजेँ । तर, ती महिलाले मसँग पैसा छैन मैले पैसा रामबहादुर वलीको घरमा राख्न दिएकी छु भनेर एक हातले’ मेरो हात र अर्को हातले मेरो हातको चक्कु खोसिन्, सो क्रममा उनको हातसमेत काटियो, अभियुक्त वीरबहादुर बस्नेतले प्रहरीसँग गरिएको बयानमा भनेका छन् ।

‘चक्कु खोसेर ती महिलाले आफ्नो विस्तरामुनि राखिन्, मलाई यस्तो किन गर्छस् तँलाई म भोलि पैसा दिउँला भनी सम्झाउन् थालिन् मलाई यतै सुत यतै बस भोलि पैसा दिउँला भनिन् र म त्यहीँ सुतेँ,’ उनले अनुसन्धानका क्रममा प्रहरीलाई यस्तो बयान दिएका छन् । तर, पछि आफु  पैसा चोर्न आएको बारेमा मृतकले आफ्नो छोरालाई भनेपछि मलाई कुटपिट गर्छ भन्ने सोचेर ती महिलाको हत्या गरेको भनी स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया