पोखरा । पोखरामा डेंगू संक्रमितको संख्या बढेको छ । एकहप्ता अगाडि २८ जना डेंगूबाट संक्रमितको संख्या बढेर बढेर ६९ पुगेको छ । करिब एक महिनाको समयमा पोखराका विभिन्न अस्पतालमा ६९ जनामा डेंगूको संक्रमण भेटिएको छ ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाकाको तथ्यांकअनुसार गतहप्ता ४८ जनामा देखिएको डेंगूको संक्रमण बढेर ६९ पुगेको हो ।
डेंगूको संक्रमण भएकामध्ये अधिकांश पोखरा–८ का छन् । ४८ जना मध्ये २८ जना पोखरा–८ का रहेका छन् भने अन्य बिरामी पोखरा– ५, १० र १५ वडाका रहेका छन् ।
पोखराका गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पताललगायतका अस्पतालमा परीक्षण गराउन आएका ६९ जनामा डेंगूको संक्रमण देखिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए ।
उनले पोखरा महानगरपालिका–८ वरपरबाट धेरै डेंगूको बिरामी आएको बताए । उनका अनुसार असोजदेखि अहिलेसम्म ४८ जनामा डेंगू संक्रमित बिरामी भेटिएको बताए ।
पौडेलले डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने भएका कारण रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा विभिन्न अभियान चलाएको बताए । विशेषगरी रोगी असोज र कात्तिक महिना बढी भेटिने गरेकाले पनि रोकथामका अभियान चलाएको पौडेलले बताए । ‘डेंगू सार्ने लामखुट्टेले दिउँसो टोक्छ’, उनले भने ‘सफा पानीमा फुल पार्दछ, त्यसैले पानीलाई छोपरे मात्रै राख्नुपर्छ ।’
उनले घरदैलोमा पुगेर पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने भएकाले पानी जम्ने खाल्टाखुल्टी पुर्न, सरसफाइमा ध्यान दिन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको बताए । पोखरामा भेटिएका डेंगूका बिरामीहरू अधिकांश भारत, तराई र कतारबाट आएकाको परिवारमा देखिएको पौडेलले जानकारी दिए ।
स्वास्थ्य महाशाखा प्रमुख पौडेलले डेंगू संक्रमित बिस्तारै घट्दै जाने बताएका छन् । ‘जाडो सुरु भई सक्यो,’ उनले भने, ‘त्यसैले पनि संक्रमित घट्दै जान्छन्् ।’ संक्रमित क्षेत्रमा सरसफाई अभियान पनि सुरु गरिएको उनको भनाइ छ । अन्य जिल्लाबाट पनि उपचारको लागि पोखरा आउने हुनाले पोखरामा संक्रमित धेरै देखिएको उनले जानकारी दिए ।
डेंगू संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिने गण्डकी मेडिकल कलेजका मेडिकल विभागमा कार्यरत डाक्टर दुर्गा ढुंगानाले बताए । ‘त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोकेपछि रोग सर्छ’ उनले भने ‘संक्रमित लामखुट्टेलेको टोकाइबाट बिरामी परेको व्यक्तीलाई अन्य लामखुट्टेले टोक्दा संक्रमण एकपछि अर्कोमा फैलिन्छ ।’
लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन करिब ३ देखि १४ दिनसम्म लाग्न सक्छ । पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रूघाखोकी ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा ढाड कडा दुख्नेजस्ता लक्षण देखिने उनले बताए । यस्तोमा रूघाखोकी र ज्वरोका सामान्य औषधि खाएर निको हुन सक्छ ।
उनले गण्डकी मेडिकल कलेजमा पर्वत, स्याङ्जा लगायतका जिल्लाबाट समेत डेगूका बिरामी आएको बताए । उनीहरू उपचारपछि घर फर्किएको उनको भनाइ थियो । डेंगू संक्रमणले शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तस्राव हुने र बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाइ छ ।
प्रतिक्रिया