बढ्दै लागुऔषध सेवन र बिक्रिबितरण

रौतहट । चन्द्रपुर नगरपालिकामा लागुऔषध सेवन प्रयोग बढ्दै गएको छ । लामो समयदेखि लागुऔषधको कारोबार हुँदै आएका कारणसमेत यसको सेवन र बिक्री वितरणमा कमी आउन सकेको छैन ।

सीमावर्ती भारतीय बजार बैरगनीयाबाट ४२ किलोमिटर उत्तरको चन्द्रपुर र बागमती बजारसम्म सहजै लागुऔषध पुग्ने गरेको छ । चन्द्रनिगाहपुर गौर सडक खण्डको विभिन्न स्थानमा दर्जन प्रहरी चौकी भए पनि प्रहरीको आँखा छल्दै सहजै लागुऔषध बैरगनिया बजारबाट चन्द्रनिगाहपुरसम्म आउने गरेको छ ।

रौतहट जिल्लामा सरुवा भएर आउने प्रहरी प्रमुखले लागुऔषध नियन्त्रण र तस्करी नियन्त्रणमा आफ्नो भूमिका रहने प्रतिबद्धता जनाउने गरेको भए पनि दुबै कुरा नियन्त्रण हुन सकेको छैन् । केही दिनअघि बैरगनियाबाट स्कुटीमा लुकाएर ल्याउदै गरेको विभिन्न प्रतिबंधित औषधी सहित एक जना पक्राउ परे ।

चन्द्रपुर नगरपालिका ६ का २५ बर्षीय गोपाल लामाले आफु चढने बा ९४ प ३३७ नम्बरको स्कुटीमा नोफिल इन्जेक्सन ५, फेनारगन ६ थान, डाइजेलेब ५ थान, एजेएल १ थान लिएर आउँदै गर्दा गौर भन्सारमा पक्राउ परे ।

उनी पक्राउ पर्ने एक उदाहारण मात्र हुन् । सोही बाटो भएर दैनिक युवाहरूले बिभिन्न प्रकारका लागु औषध लिएर चन्द्रनिगाहपुर सम्म आउने गरेका छन् । बैरगनिया बजारबाट सस्तोमा ल्याउने लागुऔषध चन्द्रनिगाहपुरसम्म आइपुग्दा तेब्बर महँगो हुने भएका कारण सेवनकर्ताले खर्च पनी उठने सेवन पनि गर्न पाईने भएका कारण लागु औषध चन्द्रनिगाहपुरसम्म सहजै आउने गरेको जानकारहरू बताउँछन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले प्रहरीले लागु औषध सेवन तथा बिक्रि वितरणविरुद्ध सक्रिय भएर लागेको बताए । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले सिमामै कडाइ गर्ने हो भने चन्द्रनिगाहपुरसम्म लागु औषध सहजै आउन नसक्ने स्थानीय युवा भरत आचार्यले बताए ।

लागुऔषध सेवनकर्ता र बिक्रेतालाई प्रहरीले पक्राउ गरेपनि उनीहरू प्रहरी र सरकारी वकिलको कार्यालयका कर्मचारीको मिलेमतोमा सहजै छुटने गरेका कारणसमेत यो व्यावसाय रोकिन नसकेको हो ।

प्रहरीको मुद्दा फाँटमा कार्यरत प्रहरी र सरकारी वकिलको कार्यालय गौरका कर्मचारीको मिलेमतोमा लागु औषध कारोवारीको मुद्दा कमजोर बनाएर अदालतमा लाने गरेको कारण समेत कारोवारी सहजै छुटने गरेको जानकारहरूको भनाई छ । सरकारी वकिल र मुद्दा फाँटका प्रहरीको मिलेमतोमा छुटनेहरू फेरी पनि पुरानै धन्दामा फर्कने गरेको छन् ।

प्रतिक्रिया