बाँके । बाँकेमा एचआइभी एड्सका बिरामी बर्सेनी बढ्दै गएका छन् । अहिलेको नयाँ तथ्यांकअनुसार जिल्लामा १ हजार १२ जना व्यक्ति एचआइभी एड्सबाट संक्रमित छन् । आर्थिक वर्ष ०७३÷७४ को असार मसान्तसम्म बाँकेमा ९ सय ६२ जना एचआइभी संक्रमित रहेका थिए ।
एचआइभी एड्सकै कारण अहिलेसम्म बाँकेमा १ सय २८ जनाको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरी तिवारीले बताए । कार्यालयका अनुसार आव ०७४÷७५ मा ५ सय ६५ पुरुष, ४ सय ३४ महिला र १३ जना तेस्रोलिंगी गरी जम्मा १ हजार १२ जना एचआइभी संक्रमित रहेका छन् ।
एआरटी खानेको संख्या ४ सय ६० जना रहेको उनले बताए । गतवर्ष जिल्लामा १३ जना तेस्रोलिंगी, ५ सय ३५ पुरुष र ४ सय १४ जना महिलालाई एचआइभी संक्रमण भएको थियो ।
बाँकेमा २६ जना बालबालिकामा समेत एचआइभी संक्रमण भएको तथ्यांकले देखाएको छ । असुरक्षित यौनसम्पर्क र सुई, सिरिन्जबाट लागुऔषध प्रयोगकर्ता एचआइभीको उच्च जोखिममा रहेका छन् ।
कामका लागि विदेश गएकाबाट पनि एचआइभी सरेको भेटिएको छ । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेका कतिपय संक्रमितहरू एआरटी सेवाबाट वञ्चित भइरहेका छन् । एकपटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही संक्रमितले सेवा लिन नमानेको तिवारीले बताए ।
एआरटी र पिएमटिसिटी सेवा लिन छुटेका एचआइभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्बन गरेको बताउँदै सरकारले ९०–९०–९० नीतिलाई अगाडि बढाएको छ ।
सन् २०२० सम्म उपचारबाट वञ्चित ९० प्रतिशतलाई सेवा प्रदान गर्ने, ९० प्रतिशत सर्वसाधारणको एचआइभी जाँच गर्ने र ९० प्रतिशतलाई संक्रमणको बारेमा जानकारी दिने नीति सरकारले अघि सारेको छ ।
भेरी अञ्चल अस्पतालले एचआइभी संक्रमितलाई निःशुल्क उपचार सेवा दिएको छ । विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको संक्रमण देखिएकोले सीमानामा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको र विभिन्न गैरसरकारी संस्थामार्फत लागुऔषध प्रयोगकर्तालाई पनि सचेत पार्ने र औषधि नियमित सेवन गराउने अभियान चलाइएको साविकको जनस्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।
प्रतिक्रिया