नेपालको कृषिमा कतारको चासो

काठमाडौं । कतारले नेपालको कृषि क्षेत्रमा लगानी बढाएर सहकार्य गर्न चासो देखाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने औपचारिक कतार भ्रमणको दास्रो दिन भएका सहमति र समझदारीमा कतारले कृषिमा बढी चासो देखाएको हो ।

कतारका अमिर शेख तमिम बीन हमाद अल थानीसँग अमिरी दिवान (दरबार)मा राष्ट्रपति भण्डारीले भेटवार्ता गरेपछि सहमति र समझदारीमा हस्ताक्षर भएको छ । कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदान प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिकासम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गरेका छन् । समझदारीमा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने भनिएको छ ।

कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्यसम्बन्धी एक समझदारी पत्रमा समेत हस्ताक्षर भएपछि त्यस्तो सहकार्यको सम्भावनाको ढोका खुलेको सरकारको विश्वास छ । नेपालबाट निर्यात सम्भावना रहेका अलैँची र अदुवाजस्ता व्यावसायिक बालीहरू भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिने संकेत गरेको छ ।

त्यससँगै नेपालमा उत्पादकत्व बढाउन कतारको विज्ञता रहेको उन्नत प्रविधि र प्रशोधन उद्योगलाई नेपालमा प्राविधिक सहायता र लगानीका रूपमा ल्याउन खोजिएको कृषि विकास तथा पशुपन्छी मन्त्रालयको बुझाइ छ ।

गत वर्ष साउदी अरब लगायतका देशले कतारमा नाकाबन्दी लगाएपछि उसले कृषिमा देशभित्र र बाहिर ठुलो लगानी गरिरहेको छ । नेपालबाट सिधै कृषिजन्य बस्तु आयातका लागि कतारले विशेष चासो दिएको हुन सक्ने परराष्ट्रविज्ञहरुले बताएका छन् । कतारमा अहिले अग्र्यानिक तरकारीको उच्च माग रहेको छ ।

जबकि विषादीको प्रयोग शुरू भइसकेका ठाउँमा पुनः अग्र्यानिकतर्फ फर्किन १० देखि १५ वर्षसम्म लाग्ने गरेको पाइएको छ । तरकारी लगाउने प्रकृयादेखि नै गुणस्तर मापन गर्न सक्ने भर्टिकल्चरजस्ता प्रविधिमा उसको दक्षता रहेकोले त्यसमा हुने सहकार्य महत्वपूर्ण हुने बताइएको छ । कतारमा रहेका करिब ४ लाख नेपालीमध्ये अधिकांश कृषि क्षेत्रमा पनि काम गर्ने गरेका छन् ।

यसैगरी, मंगलबार नै कूटनीतिक, सरकारी र विशेष राहदानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गरेका छन् ।

यसअघि, राष्ट्रप्रमुखको भेटवार्तामा दुई देशबीच रही आएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउनेलगायत विषयमा छलफल भएको थियो । अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए ।

यसैबीच, नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आप्mनो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसैगरी सो कार्यालयबाट नेपाली श्रमिकहरूको छनोट, स्वास्थ्य परीक्षण र वीमा लगायत एकीकृत सेवा प्रदान गरिनेछ ।

परराष्ट्र मन्त्री ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच यस विषयमा छलफल भएको छ । कतारमा ठूलो संख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताए ।

उनले राष्ट्राध्यक्षहरूको बीचमा समेत नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमा समेत सकारात्मक छलफल भएको छ जसले गर्दा नेपाली श्रमिकका समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया