कार्तिक १५ देखि गोदावरी पुष्प प्रदर्शनी

काठमाडौं । गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । कार्तिक १५ देखि १८ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने १२ औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ०७५ का मेला संयोजक मीन बहादुर तामाङ्गले जानकारी दिए ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।

प्रदेश सरकार, प्रदेश–३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालले १२ औ सस्करणको रूपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्न लागेको हो । तिहार पर्वमा घर आगन सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोगको एक आकर्षक फूलको रूपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाआँै घर आँगन वरिपरि” भन्ने रहेको छ । पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरू विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउनु प्रदर्शनीको उद्देश्य रहेको छ ।

 

हाल पुष्प उत्पादक कृषकहरूको आफ्ना उत्पादनको बजार क्षेत्र सीमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने अपेक्षा गरिएको छ ।

गोदावरी फूलको विविध जाती प्रजातीहरूमध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरी प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरूलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरी शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

मेलामा व्यावसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरू रहने छन् । मेलाको आकर्षणको रूपमा गोदावरी फूलको विभिन्न नयाँ–नयाँ प्रजातीका फूलहरूको प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरूको समेत प्रदर्शनीमा समाबेश हुने छन ।

यस मेलाबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने छ । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ । ३६ हजारभन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रूपैयाँ बराबरको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

तत्कालिन शाही वनस्पति उद्यान, गोदावरीले ०५३ सालदेखि गर्दैै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला विगत ०६४ साल देखि २०७० सालसम्म कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, कृषि विभाग आयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल सह आयोजक भई गोदावरी मेला सञ्चालन गर्दै आइरहेको थियो ।

०७१ देखि ०७४ सम्म नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरकल्चर एसोसिएसन नेपालले आयोजना गर्दै आइरहेको थियो । देश संघीय गणतन्त्रमा रूपान्तरण भइसकेपछि यस वर्ष प्रदेश सरकार, प्रदेश–३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालले १२औँ सस्करणको रूपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले स्थापना काल देखि नै पुष्प व्यवसायमा आइपरेका विभिन्न चुनौती तथा समस्याहरूलाई चिर्दै सम्भावनालाई पहिल्याउँदै सम्पूर्ण पुष्प व्यवसायीहरूको हकहितको लागि निरन्तर रूपमा नेपालमा पुष्प व्यवसायको समग्र विकास, विस्तार तथा प्रवद्र्धन गर्दै आइरहेको छ ।

प्रतिक्रिया