पोखरामा डेंगु फैलिँदै

पोखरा । पोखरामा डेंगु संक्रमितको संख्या बढेको छ । करिब एक महिनाको समयमा पोखराका विभिन्न अस्पतालमा २८ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाकाको तथ्यांकअनुसार २८ जनामा डेंगुको संक्रमण भेटिएको छ । डेंगुको संक्रमण भएकामध्ये अधिकांश पोखरा–८ का छन् । २८ जना मध्ये २५ जना पोखरा–८ का, पोखरा–५, १० र १५ वडाका एक÷एक जना रहेका छन् ।

पोखराका गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पताल लगायतका अस्पतालमा परीक्षण गराउन आएका २८ जनामा डेंगुको संक्रमण देखिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए ।

उनले पोखरा महानगरपालिका–८ वरपरबाट धेरै डेंगुको बिरामी आएको बताए । उनका अनुसार असोजदेखि ९ कात्तिकसम्म २८ जनामा संक्रमण डेंगुबाट संक्रमित बिरामी भेटिएका छन् ।

डेंगु रोग लामखुट्टेको टोकाइबाट संक्रमित हुने भएका कारण डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा विभिन्न अभियान चलाएको उनले बताए ।

विशेषगरी डेंगु रोग असोज र कात्तिक महिनामा बढी भेटिने गरेकाले पनि रोकथामका अभियान चलाएको पौडेलले बताए । ‘डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्छ’, उनले भने, ‘सफा पानीमा फुल पार्दछ, त्यसैले पानीलाई छोपरे मात्रै राख्नुपर्छ ।’

उनले घरदैलोमा पुगेर पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने भएकाले पानी जम्ने खाल्टाखुल्टी पुर्न, सरसफाइमा ध्यानदिन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको बताए । पोखरामा भेटिएका डेंगुका बिरामीहरू अधिकांश भारत, तराई र कतारबाट आएकाको परिवारमा देखिएको पौडेलले जनाकारी दिए ।

डेंगुले संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घण्टाभित्र रगतमा भाइरस फैलिने गण्डकी मेडिकल कलेजका मेडिकल विभागमा कार्यरत डाक्टर दुर्गा ढुंगानाले बताए । ‘त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोकेपछि रोग सर्छ’, उनले भने । ‘संक्रमित लामखुट्टेको टोकाइबाट बिरामी परेको व्यक्तिलाई अन्य लामखुट्टेले टोक्दा संक्रमण एकपछि अर्कोमा फैलिन्छ ।’

लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन करिब ३ देखि १४ दिनसम्म लाग्न सक्छ । पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रूघाखोकी ज्वरो आउने, टाउको तथा जिउ दुख्ने, जोर्नी तथा ढाडहरू कडा दुख्ने जस्ता लक्षण देखिने उनले बताए । यस्तोमा रूघाखोकी र ज्वरोका सामान्य औषधि खाए निको हुन सक्छ । उनले गण्डकी मेडिकल कलेजमा पर्वत, स्याङ्जा लगायतका जिल्लाबाट समेत डेंगुका बिरामी आएको बताए ।

प्रतिक्रिया