तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै नालाका युवा

बनेपा । बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

आफ्नै जमिनमा उत्पादन भए जतिका तरकारी सबै बिक्री हुने र दुःख गरेअनुसार आम्दानी पनि हुने भएकाले यहाँका युवा सो खेतीतर्फ आकर्षित भएका हुन् । बजार नजिक भएका कारण पनि यहाँका युवा मौसम अनुसार तरकारी खेतीगरी आम्दानी गर्दै आइरहेका छन् । बनेपा नगरपालिका–४ नालाका सहदेव दाहालले आफूहरूले काउली, गोलभेँडा, आलु, मुला र खुर्सानीलगायत तरकारी उत्पादन तथा विक्री गरी आम्दानी गरिरहेको बताए ।

‘म आफ्नै खेतबारीमा मौसमअनुसारको तरकारी खेती गरी आम्दानी गर्दै आइरहेको छु ।’ दाहालले भने, ‘दसैँलाई लक्षित काउली र मूला बिक्री गरेर ३ लाख जति आम्दानी गरेँ, काउली त अब सकिसक्यो, मूला भने केही बाँकी भएकाले बिक्रीका लागि तरकारी संकलन केन्द्रमा ल्याएको हुँ ।’

फाइदा राम्रो हुने गरेको र यो याममा राम्रै मूल्य पाएको कृषक दाहालले बताए । घरका सबै परिवार खेतीमा नै लागेकाले वर्षमा ९-१० लाखसम्मको कमाइ हुने उनको भनाइ थियो । विगत आठ वर्षदेखि तरकारी खेती गर्दै आएका अर्का युवा मनोज दाहालले पनि मौसमअनुसार समयमै उत्पादन गरी बिक्री गर्न सकेमा वर्षको ४-५ लाखसम्म कमाइ हुने बताए ।

‘मौसमअनुसार उत्पादन गर्न सक्यौँ भने कहाँ लगेर बेच्ने हो भन्ने चिन्ता हुँदैन ।’ दाहालले भने, ‘उत्पादन भएको तरकारी संकलन केन्द्रमा ल्याएपछि बिक्री भइहाल्छ । अझ कतिपय ठेकेदार त गाउँमै आएर पनि तरकारी संकलन गरी लाने गरेका छन् ।’ गाउँ÷टोलमा आउनेले भने अलि कम मूल्य दिने गरेका कारण आफूले उत्पादन गरेको तरकारी भने संकलन केन्द्रमा नै लगेर बेच्ने गरेको उनको भनाइ थियो ।

कहिलेकाहीँ दुःख गरेर उत्पादन गरेको तरकारीको भने जति मूल्य नपाउँदा भने दुःख लाग्ने गर्छ । ‘हामीले दुःख गरेर उत्पादन गरेका हुन्छौँ, बजारमा मनोमानी भाउ हुन्छ, बाध्यताले उनीहरूको भाउमै बेच्नुपर्ने हुन्छ,’ दाहालले भने । उनका अनुसार अहिले आफूहरूले किलोको २० रुपैयाँमा बेचेको मूला बजारमा उपभोक्ताले ४०-४५ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।

तरकारी संकलन गरी खुद्रा पसलमा बिक्री गर्दै आएका व्यापारी पवनकुमार गुप्ताले तरकारी व्यवसायबाट राम्रै आम्दानी हुने गरेको बताए । ‘यहाँ हामी तरकारी संकलन गर्छौँ र बजारमा लगेर बेच्छौँ’, भारत घर भएको बताउने उनले भने, ‘यही पेसा गर्दै आएको ८-१० वर्ष भयो ।’ किसानले उत्पादन गरेको तरकारी मोल गरेर लगेर बेच्ने अनि आएर र पैसा तिर्ने गरेका कारण कम लगानीमा व्यवसाय गर्न पाएपछि व्यापारी यस्ता व्यवसायमा आकर्षित भएका हुन् । त्यसरी संकलन गरिएका तरकारी काठमाडौंको विभिन्न ठाउँमा बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया