निमित्तको भरमा वीर अस्पताल

काठमाडौं । नेपालकै जेठो तथा ठूलो सरकारी अस्पतालको रूपमा रहेको वीर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र ट्रमा सेन्टर निमित्तको भरमा चलिरहेको छ ।

असोज २९ गतेदेखि नै अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेतको पदावधि सकिए पनि अहिलेसम्म त्यहाँ नयाँ निर्देशक नियुक्त हुन सकेका छैनन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान भने तीन महिनादेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ ।

लामो समयदेखि न्याम्समा उपकुलपति नहुँदा सेवा प्रभावित बनेको छ । त्यस्तै, ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले पनि आफ्नो पदबाट असोज २४ गते नै राजीनामा दिएका छन् ।

डा. उपाध्यायको २ वर्षे कार्यकाल बाँकी रहँदै राजीनामा दिए पनि अर्को व्यवस्था नभए सम्मका लागि उनलाई नै निर्देशको जिम्मेवारी दिइएको छ । न्याम्सका उपकुलपति प्राडा. गणेश गुरुङको कार्यकाल साउन २४ मा सकिए पनि हालसम्म पनि उपकुलपति चयन हुन सकेको छैन ।

वीरका कर्मचारीले लामो समयदेखि निर्देशक नहुँदा अस्पतालकै महत्वपूर्ण कामहरू रोकिएको बताएका छन् । उनीहरूले कतिपय महत्वपूर्ण काम रोकिँदा अस्पतालका दीर्घकालीन र तत्काल आउने समस्याले झनै विकराल रूप लिन सक्ने कर्मचारीको भनाइ छ । यस्तो ठूलो पद भनेको एकदिन पनि खाली हुनुहुँदैन । यसलाई गम्भीर रूपमा सरकारले सोच्नुपर्ने अस्पतालका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया