कैदीबन्दीका लागि निःशुल्क आँखा परीक्षण

प्युठान । कारागारमा रहेका कैदीबन्दीहरूको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

बिहीबार मल्लरानी गाउँपालिका–४ खलंगामा सञ्चालित आँखा परीक्षणको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आँखा मानव जीवनको महत्वपूर्ण अंग रहेकोले शिविरले कैदीबन्दीहरूलाई राहत हुने विश्वास व्यक्त गरेका छन् । कैदीबन्दीहरूलाई स्वास्थ्य परीक्षणका लागि समस्या हुने हुँदा यस्ता शिविरले सहज बनाउनेसमेत प्रजिअ गैह्रेले बताए ।

प्युठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले कारगारमा आँखाका समस्या भएका कैदी बिरामीहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको आँखा शिविरबाट बिरामीलाई फाइदा लिन आग्रह गरेका छन् । उनले आगामी दिनमासमेत कार्यक्रम सञ्चालन गर्ने र मोतीविन्दुको समस्या भएकाहरूलाई बिजुवारमा सञ्चालन हुने शिविरमा सेवा प्रदान गर्ने बताएका छन् ।

आँखा परीक्षणबाट जम्मा ८३ जना लाभान्वित भएका छन् । जसमध्ये ६२ पुरुष र ११ महिला गरी ७३ जना कैदीबन्दी, दुई जना नाबालक र आठ जना कर्मचारी रहेका छन् ।

परीक्षणबाट चार जनामा मोतीविन्दु देखिएको छ । जसमध्ये तीन जना पुरुष कैदीबन्दी र एक जना पुरुष कर्मचारी रहेका छन् । ५१ जनालाई औषधि विरतण गरिएको छ । १५ जनालाई चस्मा आवश्यकता रहेको छ । नाबालकसहित १३ जनामा साधारण समस्या रहेको छ ।

१५ कात्तिकमा विजुवार आँखा अस्पतालमा सञ्चालन हुने शिविरमा चस्मा वितरण तथा मोतिविन्दुको उपचार गरिने प्युठान कारागार प्रमुख सूर्य पन्तले जानकारी दिएका छन् ।

आँखा परीक्षण नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल प्युठानका डा. सुजाता भण्डारी सहितको टोलीले गरेको हो ।

नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल प्युठानको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया