पत्रकार खसोग्गी बेपत्ताको रहस्य

तीन हप्ताअघि टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको वाणिज्य दूतावास प्रवेश गरेपछि साउदी पत्रकार जमाल खसोग्गी बेपत्ता भएका थिए । उनी साउदी सरकारका कतिपय नीतिको कडा आलोचकका रूपमा परिचित थिए । साउदी सरकारले गरेका कैयौँ निर्णयलाई उनले खुलेर आलोचना गर्दै आएका थिए । जसका कारण उनी साउदी सरकारको निसानमा थिए ।

वाणिज्य दूतावासभित्रै साउदी एजेन्टहरूको एक समूहले खसोग्गीको हत्या गरेको टर्कीका अधिकारीहरूको विश्वास छ । तर, उक्त डरलाग्दो हत्याको अडियो (श्रव्य) रेकर्डिङसहितका प्रमाण आफूहरूसँग रहेको अंकाराको भनाइ छ । यद्यपि, अहिलेसम्म अंकाराले ती प्रमाणहरू सार्वजनिक गरेको छैन ।

यसअघि साउदी अरेबियाले वाणिज्य दूतावासभित्रै खसोग्गीको हत्या गरिएको दाबी अस्वीकार गर्दै आएको थियो र उनी वाणिज्य दूतावास भवनबाट आफ्नो काम सकेर सकुुसल फर्केको बताउँदै आएको थियो ।

तर, पछि आएर साउदी सरकारी टेलिभिजनबाट प्रसारण गरिएको एउटा वक्तव्यमा पहिलोपटक उसले खसोग्गीको मृत्यु भएको कुरा स्वीकार गरेको छ । उक्त घटनाका बारेमा साउदी अभियोजनकर्ताले भनेका छन्, ‘वाणिज्य दूतावासभित्रका केही मानिसहरूसँग खसोग्गीको बाझाबाझ भयो र त्यसले मृत्युको घटना निम्त्यायो ।’

खसोग्गी एक चर्चित पत्रकार हुन् जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे, प्रसारण गर्न सहयोग पु¥याए । उनले दशकौँसम्म साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि काम गरेका थिए । लामो समय राजपरिवारको निकट भएका उनले साउदी राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए ।

निर्वासनबाटै उनले अमेरिकी पत्रिका ‘द वासिंगटन पोस्ट’ का लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे । आफ्नो पहिलो स्तम्भमा खसोग्गीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशंका व्यक्त गरेका थिए ।

उनका हरेकजसो लेख साउदी सरकारका कडा आलोचनामा केन्द्रित हुन्थे । उनको पाठकका लागि लेख वास्तविक लाग्थे, त्यसको कारण हो उनी विगतमा साउदी राजपरिवारको निकट हुनु, त्यहाँ रहँदा उनले राजपरिवारका कमी कमजोरी धेरै थाहा पाएकाले उनका लेखहरू त्यसैमा आधारित भएको हुनसक्ने पाठकको विश्वास थियो ।

बेपत्ता हुनु तीन दिनघि बिबिसीको ‘न्युज आवर’ कार्यक्रममा उनले भनेका थिए, ‘विरोधी हुँदैमा मानिसहरू गिरफ्तार भइरहेका छैनन्, स्वतन्त्र विचार राख्नेहरू पनि गिरफ्तार गरिँदै छन् ।’

उनीले आफ्नी पूर्व–पत्नीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित भएको कागजात लिन सेप्टेम्बर २८ मा पहिलोपटक वाणिज्य दूतावास गए ताकि उनले दोस्रो बिहेको छिनोफानो भएको टर्कीकी महिलासँग विवाह गर्न सकून् । तर, त्यसका लागि उनलाई अक्टोबर २ मा फेरि वाणिज्य दूतावास आउन भनियो ।

बिहेको छिनोफानो भएको टर्कीकी महिलाले ‘द वासिंगटन पोस्ट’ मा लेखेकी छन्, ‘साउदी वाणिज्य दूतावास जान उनले अप्ठ्यारो मानेनन् किनकि, उनलाई थाहा थिएन टर्कीको भूमिमा केही नराम्रो हुन सक्ला ?’ ‘आफ्नो दोस्रो भ्रमणअघि जमाललाई खासै चिन्ता थिएन ।’
स्थानीय समय अनुसार डेढ बजेका लागि समय पाएका खसोग्गी १ बजेर १४ मिनेटमा सिसी टिभीमा देखिएका थिए ।

बिहे छिनिएकी महिला साथीलाई आफ्ना दुइवटा फोन दिएका खसोग्गीले आफू बाहिर नआए टर्कीका राष्ट्रपतिका एकजना सल्लाहकारलाई फोन गर्न भनेका थिए । वाणिज्य दूतावासबाहिर ती महिला १० घण्टा जति कुरिन् र खसोग्गी नआएपछि फर्किन् । त्यसको दुई हप्तासम्म साउदी अरेबियाले खसोग्गीबारे केही थाहा नभएको दोहोर्याउँदै आयो ।

नोभेम्बर महिनाको सुरुतिर ‘ब्लुमबर्ग न्युज’ सँग कुरा गर्दै राजकुमार मोहम्मदले ‘खसोग्गीलाई के भएको हो भन्नेबारे थाहा पाउन आफू पनि इच्छुक रहेको’ बताएका थिए ।

अमेरिकाका लागि साउदी अरेबियाका राजदूतसमेत रहेका राजकुमार मोहम्मदका भाइ खालिद बिन सलमानले बेपत्ता वा खसोग्गीको मृत्युबारे आइरहेका खबरहरू ‘पूर्णतः झूटो र आधारहीन’ भएको बताएका थिए । तर, अक्टोबर २० तारिखको एकाबिहानै साउदी अरेबियाको सरकारी टेलिभिजनले सरकारी कर्मचारी र उनीबीच बाझाबाझका क्रममा वाणिज्य दूतावासभित्रै खसोग्गीको मृत्यु भएको खबर प्रसारण ग¥यो ।
सो सम्बन्धी एक वक्तव्यमा भनिएको छ, ‘अनुसन्धान जारी छ उक्त घटनालाई लिएर १८ जना साउदी नागरिकलाई गिरफ्तार गरिएको छ ।’ एक उच्च गुप्तचर अधिकारी अहमद अल–असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल–कतानीलाई बर्खास्त गरिएको छ । त्यस्तै, १८ जनालाई गिरफ्तार गरिएको सरकारी सञ्चारमाध्यमले उल्लेखित गरेको छ ।

राजा सलमानले देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि सुझाव दिन भन्दै राजकुमार मोहम्मदको संयोजकत्वमा मन्त्रालयस्तरीय एउटा समिति गठन गर्नसमेत आदेश दिएका छन् ।

घटनाका बारेमा टर्कीका अधिकारीहरूले भनेका छन्, ‘साउदी एजेन्टहरूको एउटा समूहले खसोग्गीलाई यातना दिई मा¥यो र त्यसपछि त्यहाँबाट शव हटाइयो । आफूहरूसँग त्यसको श्रव्य र दृश्य प्रमाण पनि रहेको एउटा सुरक्षा स्रोतले बिबिसीलाई बताएको छ । तर, ती प्रमाणहरू भने अहिलेसम्म सार्वजनिक गरिएका छैनन् ।

सरकार समर्थित टर्कीको एउटा पत्रिकाले भनेको छ, साउदी वाणिज्य दूत मोहम्मद अल–ओतैबिले आरोपित एजेन्टहरूलाई दूतावासभित्र नमार्न भन्दै अरबिमा चेतावनी दिएको कुरा टेपमा सुन्न सकिन्छ । ‘यो सब बाहिर गर । तिमीहरूले मलाई समस्यामा पार्छौ ।’ भनेर उनीहरूले दूतावासभित्र नमार्न आग्रह गरेको बताइएको छ ।

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार खसोग्गी बेपत्ता भएको दिन १५ सदस्यीय सन्दिग्ध साउदी एजेन्टहरूको एउटा समूह इस्तानबुल पुगेको थियो । तिनीहरूमध्ये एकजना साउदी गुप्तचर निकायमा कर्णेल पदमा रहिसकेका र लन्डन दूतावासमा काम गरेको बिबिसीलाई थाहा भएको छ । त्यस्तै, राजकुमार मोहम्मदसँग सम्बन्ध भएका चारजना र एकजना आन्तरिक मामिला मन्त्रालयका वरिष्ठ अधिकारी थिए ।

१९ जनामध्ये नौजना एउटा निजी विमान चढेर रियादबाट खसोग्गी वाणिज्य दूतावास गएकै दिन दिउँसो सवा ३ बजे इस्तानबुल पुगे । बाँकी सन्दिग्ध एजेन्टहरू त्यही दिन अर्को निजी विमान वा नियमित उडानबाट आएको हुनसक्ने अनुमान गरिएको छ । उक्त समूह दुइवटा निजी विमानबाट कायरो र दुबई हुँदै रियाद फर्केको अनुसन्धानकर्ताले बताएका छन् ।

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार अक्टोबर २ को घटनाक्रम यस्तो थियो । ३ बजेर २८ मिनेट जाँदा सन्दिग्ध साउदी एजेन्टहरू सवार पहिलो विमान इस्तानबुल विमानस्थलमा अवतरण गरेको थियो । यस्तै, ५ बजेर ५ मिनेटमा साउदी वाणिज्य दूतावास नजिकैका दुइवटा होटलमा सो समूहका सदस्यहरू प्रवेश गर्ने क्रममा देखिएको समाचारहरूमा उल्लेखित गरिएको छ ।

१२ बजेर १३ मिनेटमा कूटनीतिज्ञले प्रयोग गरेका थुप्रै सवारीसाधन वाणिज्य दूतावास पुगेको, कतिपय एजेन्ट तिनै गाडीमा भएको देखिएको बताएका छन् । यस्तैगरी, १३ बजेर १४ मिनेटमा खसोग्गी वाणिज्य दूतावास प्रवेश गरेका थिए । दूतावास प्रवेश गरेका सवारी साधनहरू १५ बजेर ८ मिनेटमा दूतावासबाट बाहिरिए र वाणिज्य दूतको निवासमा पुगेको दृश्य रेकर्ड भएको थियो ।

१७ बजेर १५ मिनेटमा सन्दिग्ध एजेन्टहरू सवार दोस्रो विमान इस्तानबुलमा अवतरण गरेको र १७ बजेर ३३ मा बिहे छिनिएकी खसोग्गीकी महिला साथी दूतावासबाहिर देखिएको दृश्य रेकर्ड भएको उल्लेखित छ । १८ बजेर २० मिनेटमा इस्तानबुल विमानस्थलबाट एउटा निजी विमान फिर्ता भएको र अर्को विमान राति ९ बजे फिर्ता भएको रेकर्डमा रहेको दाबी छ ।

हत्याबारे अडियो तथा भिडिओ रेकर्डिङसहितका यी सबै प्रमाण आफूहरूसँग रहेको अंकाराको भनाइ छ । यद्यपि, अहिलेसम्म उसले ती प्रमाणहरू सार्वजनिक गरेको छैन । हालै अंकारा भ्रमण गरेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफूले कुनै अडिओ सुनेको दाबी अस्वीकार गरेका छन् ।

सरकार समर्थित टर्कीको एउटा पत्रिकाले भनेको छ, साउदी वाणिज्य दूत मोहम्मद अल–ओतैबीले आरोपित एजेन्टहरूलाई दूतावासभित्र नमार्न भन्दै अरबिमा चेतावनी दिएको कुरा टेपमा सुन्न सकिन्छ । अंकारासँग रहेको भनिएको सो प्रमाणहरू किन सार्वजनिक भएको छैन वा कहिले हुन्छ खुलाइएको छैन् ।

साउदी राजा सलमानले टर्कीका राष्ट्रपति रेजेप ताइपेइ एर्दोआनसँग टेलिफोन वार्ता गरेपछि साउदी सरकारी सञ्चारमाध्यममा खसोग्गीको मृत्युबारे समाचार आएको हो । टर्कीको राष्ट्रपति कार्यालय स्रोतका अनुसार दुइजनाले जानकारी आदानप्रदान गरे र अनुसन्धान सहकार्य जारी राख्ने सहमति जनाएका छन् । टर्कीले उपलब्ध गराएका जानकारीका आधारमा साउदीले पछिल्लो कदम चालेको बताइएको छ ।

साउदी वाणिज्य दूतावासमा भने टर्की प्रहरीलाई अक्टोबर १५ मा मात्र छिर्न दिइएको थियो । टर्की प्रहरीलाई साउदी अधिकारी तथा सरसफाई कर्मचारीहरू प्रवेश गरेको केही समयपछि मात्रै प्रवेश दिइएको थियो । टर्कीको प्रहरीले वाणिज्य दूतावासका साथै वाणिज्य दूतको निवासमा खोजतलास गरेको छ र डिएनए परीक्षणका लागि नमुना संकलन गरेको छ । अज्ञात स्रोतका अनुसार खसोग्गीको शव जंगल वा खेतमा गाडिएको हुनसक्छ ।

साउदी वाणिज्य दूतावासमा काम गर्ने टर्कीका १५ जना नागरिकलाई घटनाबारे टर्कीबाट सोधपुछ गरिएको छ । त्यसमा वाणिज्य दूतावासका प्राविधिक, लेखापाल र एकजना चालकलगायतका कर्मचारी रहेको बताइएको छ । बिबिसीको सहयोगमा

प्रतिक्रिया