निर्मला, न्याय र नियत

कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । न्यायको सिद्धान्तले भन्छ, ‘ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो ।’ पत्रकारिता क्षेत्रले निराशका बीच लगातार खबरहरू लेख्न बाध्यता छ । यहि विषयले दैनिक अखबारका पाना भरिएका छन् । तर, न्याय दिने सरकारका निकायमा अझै जिम्मेवारबोध देखिँदैन ।
घटना भएको साउन १० पछि न्यायकै लागि सरकारसमक्ष हारगुहार चलिरहेको छ । यो बीचमा विभिन्न अनुसन्धान समिति गठन गरिए । सरकारले सहसचिवको नेतृत्वमा उच्चस्तर अनुशन्धान समिति बनायो । यो समितिले तयार गरेको प्रतिवेदनले कुनै ठोस कारण देखाउन सकेन । सार्वजनिक भएका घटनालाई समेटेर मात्र प्रतिवेदन तयार ग¥यो । अनुसन्धान समितिले कर्मकाण्डी प्रतिवेदन सार्वजनिक गरेपछि निर्मलाले पाउने न्यायमाथि गम्भीर नियतहरू छचल्किए । यसले पीडित पक्षमा झन् घोर निराश पैदा गरिदियो । नागरिक तहबाट फेरि विरोधका स्वरहरू आउन थाले । अहिले सरकारले पुनः अर्को अनुसन्धान तथा छानबिन समिति गठन गरेको छ, एआइजी धिरु बस्नेतको संयोजकत्वमा । यो समितिको टोली अहिले स्थलगत अध्ययनमा जुटिरहेको छ । चार दिनदेखि घटनास्थल कञ्चनपुर पुगेर बस्नेत नेतृत्वको टोलीले अध्ययन थालेको छ ।
निर्मला हत्यापछि देशमा सयौँ बलँत्कारका घटना भइसकेका छन् । अधिकांश घटनाका अपराधी पत्ता लागिसकेका प्रहरीले विवरण सार्वजनिक गरिसकेको छ । तर, किन निर्मलाका अपराधी पत्ता लाग्न सकेका छैनन् ? यो निकै गम्भीर सवाल हो । घटनामा संलग्न पहुँचवाला व्यक्ति भएको विभिन्न संकेत गरिसकेको छ । अपराधीहरू कतैबाट संरक्षित भएको पुष्टि गरिसकेको छ । मात्र कसले अपराधीलाई जोगाएको छ र को अपराधी हो यो विषय निकै जटिल बनेको छ । देशभरका नागरिक जुरुक्क उठेर निर्मलालाई न्याय देउ भन्दा पनि सरकारले नसुन्दा धिरु बस्नेतको अनुसन्धान समितिले पनि वास्तविक हत्यारा पत्ता लगाउने विषयमा धेरैलाई शंका छ । तर, पनि अझै न्यायको आश मरेको छैन । किनकी, बस्नेत आफैं सुरक्षा अधिकारी हुन् । पहिले गठन भएको कर्मचारीको अनुसन्धान समितिभन्दा प्रहरीकै टोलीबाट हुने अनुसन्धानबाट वास्तविक विवरण आउने धेरैले अपेक्षा राखेका छन् । अपराधका घटनामा प्रहरी नै प्रमुख अनुसन्धान निकाय हो । न्याय दिने अदालतको काम हो । निजामती कर्मचारीबाट अपराधको विषयमा अनुसन्धान हुने विषय नै हास्यास्पद थियो । तर, अहिले एआइजी बस्नेतको नेतृत्वले वास्तविक अपराधी पत्ता लगाउन सक्ने धेरै आधारहरू छन् ।
प्रहरी प्रधान कार्यालयले निर्मला हत्याकाण्डमा मुछिएका तत्कालीन निलम्बित एसपी डिल्लीराज विष्टलाई बर्खास्ती गर्ने तयारी थालेको सूचना बाहिर आएको छ । विष्टले यो घटनाका प्रमाणहरू नष्ट गरेको आधारहरू प्रहरी प्रधान कार्यालयले सांकेतिक रूपमा देखाएको छ । यदि सुरक्षा अधिकारीबाटै यस्ता जघन्य अपराधमा यति निकृष्ट काम हुन्छ भने प्रहरी प्रधान कार्यालय अझै संवेदनशील बन्न आवस्यक छ । निर्मलाले न्याय पाउन जति ढिला भयो सरकारप्रति जनताको विश्वास त टुट्छ नै प्रहरीप्रति जनताको भरोसा पनि बा“की रहने छैन । त्यसैले, एआइजी बस्नेत नेतृत्वको टोलीले वास्तविक विवरण बाहिर ल्याएर छिटोभन्दा छिटो अपराधीलाई कारबाही गरियोस् ।

प्रतिक्रिया