स्वस्तिकालाई नेक्स सुपरको उपाधि


काठमाडौं । भक्तपुरकी स्वस्तिका प्रधानले ‘नेपाल्स नेक्स सुपर मोडल २०१८’ को उपाधि हात पारेकी छन् । प्रतियोगिताको तेस्रो संस्करणमा आफ्ना १७ प्रतियोगीलाई उछिन्दै स्वस्तिकाले उपाधिसहित २५ हजार रुपैयाँ, थाइल्यान्ड भ्रमण लगायतका विभिन्न अवसर प्राप्त गरेकी छन् ।

उनले फोटोजेनिक मोडल र बेस्ट क्याटवाकको उपाधिसमेत हासिल गर्न सफल भइन् । आर एन्ड आर गु्रपद्वारा शुक्रबार बेलुका काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित सो प्रतियोगितामा नवोदित तथा व्यावसायिक मोडलले भाग लिएका थिए। मोडलिङसम्बन्धी विभिन्न चरणको टाक्समा उत्कृष्ट हुँदै अन्त्यमा विजेता घोषणा गरिएको हो ।

प्रतियोगितामा पोखरा भ्रमणलगायत विभिन्न उपहारसहित सरु श्रेष्ठले फस्ट रनरअप तथा बेस्ट पर्सनालिटी मोडलको उपाधि चुमिन् । रिहाना वैद्यले पपुलर मोडलसहित सेकेन्ड रनरअपको अवार्ड प्राप्त गरिन् । प्रतियोगितामा बेस्ट स्किन मनिका पौडेल, बेस्ट हेयर जेसिका विष्ट, बेस्ट बडी अदिती कार्की, स्टालिस्ट मोडल स्मृति शाही, भिवर्स च्वाइस मोडल सञ्जिना खत्री घोषित भए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाइ सुवाल, सञ्चारकर्मी डब्बु क्षत्री, फिट्नेस इन्स्ट्रक्टर उज्ज्वलकृष्ण श्रेष्ठ, पूजा वैद्य र ब्युटिसियन सुलोचना श्रेष्ठ थिए ।

व्यावसायिक मोडललाई मोडलिङ पेसामा ल्याउने लक्ष्यका साथ विगत तीन वर्षदेखि प्रतियोगिता गर्दै आएको आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् ।

प्रतिक्रिया