वीर्य बेच्ने युवा

पहिलोपटक मलाई निकै असहज लागिरहेको थियो । केही संकोच केही अनौठोपन । जुन काम गर्दै थिएँ न मेरो समाजले पचाउन सक्ने थियो न त्यसबारेमा परिवारलाई सुनाउन सक्थेँ । मेरो काम नजिकका केही साथीका बीचमा मात्रै सीमित थियो । आफ्नै कोठाभित्र बसेर हस्तमैथुन गर्नु र शुक्राणु बेच्नका लागि तयार हुनु ।

त्यो एउटा फरक र असहज काम थियो जुन म गर्दै थिएँ । शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो । हस्तमैथुनपछि मैले शुक्राणु त्यही छाडेँ र त्यसबापत चार सय भारु लिएँ । अहिले म २२ वर्षको भएँ र म इन्जिनियरिङको विद्यार्थी हुँ ।

यो उमेरमा केटीसाथीको चाहना हुनु र यौन आकर्षण हुनु स्वाभाविक नै हो । तर, म जे गर्दै थिएँ त्यो नितान्त फरक काम थियो । त्यो पनि पैसाका लागि । म जुन सहरबाट आएको हुँ त्यहाँ बिहेअघि केटा मान्छेले शारीरिक सम्बन्ध बनाउन सजिलो छैन । त्यसलाई अस्वाभाविक मान्छ ।

मलाई लाग्छ महिलाको हकमा त्यो काम अझै असहज छ, सजिलो छनै । बिहे नभएका अवस्थामा पुरुषहरूका लागि हस्तमैथुन यौनसुखका लागि एउटा विकल्पको रूपमा हुन्छ । तर, मलाई लाग्यो हिजोसम्म मैले जे खेर फालिरहेको थिएँ आज त्यसलाई विक्री गर्न पाएको छु ।

आखिर त्यसै खेर जाने चिज बेरेर पैसा आउँछ भने के नै फरक पर्छ ? कहिलेकाहीँ मेरो मनमा यो पनि विचार आउँछ । शुक्राणुदानबारे मैले पत्रिकामा एउटा समाचार पढेको थिएँ । त्यसअघि मैले रक्तदानबारे मात्रै सुनेको थिएँ । पत्रिकामा उक्त समाचार देखेपछि ममा कौतुहलता बढ्यो र मैले पूरै समाचार पढेँ ।

मान्छेले रक्तदान मात्रै गर्छन् होला भनेको त शुक्राणुदान पनि गर्दा रहेछन् । मेरो लागि यो अत्यन्तै नौले र रोमाञ्चित समाचार थियो । त्यो समाचार पढेपछि मैले थाहा पाएँ भारतमा यस्ता लाखौँ दम्पती छन् जो स्वस्थ शुक्राणु अभावमा बच्चा जन्माउन सक्दैनन् ।

र, सोही कारण शुक्राणुदानको दायरा तीव्र गतिमा बढ्दो छ । आफ्ना कारण बच्चा नभएका र बच्चाको चाहना गर्नेका लागि त्यो एउटा सरल र सहयोगी माध्यम भएको मैले थाहा पाएँ, उक्त समाचार पढेपछि । उक्त समाचार पढेपछि त्यसबारेमा जान्ने चाहना बढ्यो ममा । त्यसका बारेमा गहिरिएर अध्ययन गरेँ ।

त्यसपछि मलाई थाहा भयो, म दिल्लीको जुन क्षेत्रमा बसिरहेको छु त्यहाँदेखि नजिकै एउटा शुक्राणु संकलन केन्द्र रहेछ । त्यहाँ गएर एकचोटि हेरौँ र के हरेछ बुझौँ भन्ने विचार मेरो मनमा आयो । शारीरिक रूपमा म गोरो वर्णको छु, मेरो उचाइ ठिक्कको छ । मलाई बास्केट बल खेल्न रुचि छ र बेला–बेला खेल्छु पनि ।

शुक्राणु संकलन केन्द्र पुगेर मैले शुक्राणु दिने प्रस्ताव गरे । मेरो प्रस्ताव सुनेर त्यहाँका डाक्टरहरू मुस्कुराउँदै मलाई हेरें । मेरो व्यक्तित्व हेरेर उनीहरू खुशी भएजस्तो लागिरहेको थियो र उनीहरूको त्यस्तो प्रतिक्रिया पाएर मैले केही असहज महसुस गरेँ । तर, त्यो विषय म कस्तो देखिन्छु भन्ने कुरासँग मात्रै सम्बन्धित थिएन ।

मैले पहिलोपटक शुक्राणु बेच्न लागेको थिएँ । कुरा पैसाको मात्रै थिएन अनुभवको थियो । अतः मैले यो साबित पनि गर्नुपर्ने थियो कि म बाहिरबाट जति स्वस्थ छु भित्रबाट पनि उत्तिकै तन्दुरुस्त छु । शुक्राणु दिनुपूर्व मलाई डाक्टरले केही परीक्षणहरू गराउनुपर्ने भने । मेरो रगतको नमुना लिइयो ।

मलाई एचआइभी, मधुमेहलगायत छ कि छैन भनेर जाँच गरियो । म सबै कुरामा खरो उत्रिएपछि पर्सिपल्ट मलाई बिहान नौ बजे बोलाइयो । सुरुमा मलाई एउटा फारम भर्न लगाइयो जसमा गोपनीयतासम्बन्धी केही सर्त थिए । त्यसपछि मलाई प्लास्टिकको एउटा भाँडा दिइयो र शौचालयको बाटो देखाइयो । त्यस दिनदेखि सुरु भयो यो सिलसिला ।

म आफ्नो नाम लेखिएको प्लास्टिकको भाँडो लिएर शौचालय जान्थेँ र त्यसमा शुक्राणु दिई त्यसको बदलामा पैसा लिएर फर्किन्थेँ । हातमा पैसा परेकामा भन्दा मलाई यो कुराले सन्तोष लागिरहेको थियो कि मेरो शुक्राणुबाट कोही त आमा बन्न सक्छन् । मरो कारण कुनै महिला वा परिवारको त समस्या समाधान होला भन्ने मेरो मनमा लागिरहेको थियो ।

मलाई यो पनि भनिएको थियो कि शुक्राणु दिएको तीन दिनपछि अर्कोपटक दिन सकिन्छ अर्थात् एकचोटि दिएपछि कम्तीमा त्यसको ७२ घण्टापछि फेरि दिन सकिनेरहेछ । त्यो सिलसिला सुरु भएको केही महिनापछि मेरो मनमा एउटा प्रश्न आयोः के मैले आफ्ना शुक्राणुका लागि पर्याप्त रकम पाइरहेको छु त ?

चलचित्र ‘विक्की डोनर’का अभिनेता त शुक्राणु बेचेरै धनी बन्छन्, तर मैले एकचोटि शुक्राणु दिँदा जम्मा चार सय भारु मात्रै पाउँछु । हप्तामा दुईपटक दिँदा आठ सय रुपैयाँ हुन्छ अर्थात् महिनामा ३२ सय रुपैयाँ मात्र हुन्छ । त्यसपछि मैले आफू ठगिएको महसुस गर्न थालेँ । शुक्राणु संकलन केन्द्र गएर ‘बिक्की डोनर’को चर्चा गर्दै मैले पाउने गरेको रकमबारे असन्तोष जनाएँ ।
मलाई मेरो शुक्राणुको मूल्य अति नै कम लागिरहेको थियो । एक प्रकारले म व्यवसायी जस्तै बन्दै थिएँ । आफ्नो शरीरबाट निस्केको पदार्थको मूल्य खोज्ने भइसकेको थिएँ म । सिनेमामा मैले देखेको, बुझेको कुरा र मेरो सोचाइमा त्यो स्वाभाविक नै थियो । तर, आफूप्रतिको मेरो भ्रम त्यतिबेला टुट्यो ।

जब संकलन केन्द्रका कम्प्युटरमा इमेलहरू देखाइयो जसबाट मानिसहरू शुक्राणु बेच्न पालो कुरिरहेको थाहा भयो । त्यो इमले हेरेपछि मैले आफूलाई सम्झाएँ ‘म पनि त अभिनेता आयुष्मान खुराना होइन नि ।’ सायद थोरै रकम पाउने भएर होला हामीजस्तालाई शुक्राणुदाता भन्ने गरिन्छ न कि विक्रेता ।

भलै कम रकम पाउने गरेको छु, तर मेरो जीवनमा यसको सकारात्मक असर परेको छ । मलाई लाग्छ आफ्नो शुक्राणु त्यसै खेर फाल्न हुँदोरहेनछ । अर्को कुरा हस्तमैथुन गर्ने मेरो बानी अहिले छुटिसकेको छ । मलाई थाहा छ कि मैले गलत गरिरहेको छुइनँ । तर, म यो कुरा सबैलाई भन्न सक्दिनँ । यसको अर्थ यो पनि होइन कि म कसैसित डराउँछु ।

तर, मलाई लाग्दैन हाम्रो समाज यति परिपक्व भइसकेको छ जसले यो विषयलाई संवेदनशीलताका साथ बुझ्न सकोस् । मलाई कुनै अपराधबोध भएको छैन । तर, मानिसहरूलाई यसबारे बताउन जोखिममुक्त पनि छैन । समाजको सोचाइ र यो विषयलाई हेर्ने दृष्टिकोणका कारण म यो विषयलाई आफैँभित्र सीमित राख्न बाध्य छु ।

यसबारे म आफ्नो घरमा पनि कसैलाई भन्न सक्दिनँ किनकि यो सबै थाहा पाएर मेरा आमाबुबालाई यसको नराम्रो असर पर्न सक्छ । म उहाँहरूमा मेरो कारण कुनै नराम्रो असर परोस् भन्ने चाहान्न । हुन त मेरा साथीहरूमाझ यो विषय अपाच्य होइन र उनीहरूका लागि पनि यो सामान्य कुरा नै हो । समस्या मेरो परिवार र नातागोतामा छ ।

भविष्यमा मेरी केटीसाथी (गर्लफ्रेन्ड) लाई पनि यसबारे बताउन मलाई कुनै समस्या हुनेछैन । हुन त अहिले मेरी केटीसाथी छैन । तर जो हुनेछ, ऊ शिक्षित हुनेछ र उसले यसलाई सहज रूपमा लिनेछिन् भन्ने मलाई विश्वास छ । मलाई लाग्छ यो विषयलाई श्रीमतीहरूले सहज रूपमा लिन नसक्लान् किनकि उनीहरू नचाहलान् आफ्ना श्रीमानले कुनै दिन कसैलाई शुक्राणुदान गरेका हुन वा गरिरहेका छन्।

उनीहरूलाई त्यो पचाउन गाह्रो हुनसक्छ । उसो त शुक्राणु किन्नेहरू अविवाहित पुरुषलाई नै प्राथमिकता दिँदारहेछन् र २५ वर्ष उमेरसम्मका लागि राम्रो मान्दारहेछन् । शुक्राणुदाताको नाताले यो विषयमा मलाई धेरथोर ज्ञान भएको छ । शुक्राणुको मूल्य त्यसको गुणस्तरबाट मात्रै निर्धारण हुँदैन ।

व्यक्तिको पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता लगायतका कुराले पनि अर्थ राख्दोरहेछ । यदि तपाईँलाई अंग्रेजी भाषा राम्रोसँग आउँछ भने तपाईँको शुक्राणुको मूल्य पनि बढी आउनेरहेछ । हुन त अंग्रेजी जान्ने व्यक्तिको शुक्राणुबाट जन्मिने बच्चामा त्यसको के प्रभाव पर्छ त्यो मलाई थाहा छैन, तर कैयौँले त्यस्ता पुरुषको शुक्राणुलाई प्राथमिकता दिएर खोज्दा रहेछन् ।

सायद त्यसको पनि कुनै कारण होला । मलाई थाहा छ शुक्राणुदाताका रूपमा मेरो परिचय सधैँभरि मसँग हुनेछैन किनकि सधैँभरि त्यो दिइरहने अवस्था पनि रहँदैन । केही समयका लागि थियो र सकियो पनि ।

यो कुरा मेरो आमाको निम्ति लाजको विषय हुनसक्छ र मसँग बिहे गर्न कुनै युवतीले मेरो त्यो बिषया थाहा पाएर मलाई अस्वीकार गर्न पनि सक्छिन् । तर, शुक्राणुदानलाई लाजको विषय मान्ने हो भन्ने हस्तमैथुन पनि त लज्जाको विषय हुनुपर्छ । तर, मेरो लागि यी दुइटै कुरा लाजका विषय होइनन् । अब त सामान्य लाग्न थालिसक्यो । बिबिसीको सहयोगमा

प्रतिक्रिया