समयमै उपचार गर्दा आयु बढ्न सक्छ

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल र्याली कार्यक्रम गरेर मनाएको छ ।

विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रूपमा मनाइए पनि नर्भिकको बाथरोग विभागले शनिबार विशेष मोटरसाइकल ¥याली कार्यक्रम आयोजना गरी जनचेतना अभिबृद्धि गर्ने कार्य गरेको हो । बाथरोग सम्बन्धि प्रवचन र यसबारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम नर्भिक प्रांगणबाट सुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपुल (सिफल), जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, ववरमहल हुँदै नर्भिकनै आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब १ सय ५० जनाको टोली सहभागिता रहेकोे सो अस्पतालले जनाएको छ ।

नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढीभन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् ।

पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको सिकार हुने गरेका तथ्यांकले देखाएको छ । डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्यसमेत पाइएको छ ।

धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्र्नीहरूमा चोट पुर्याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ ।

र्यालीको समापन पश्चात् प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै शाखाका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले कार्यक्रमले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे प्रकाश पारेका थिए । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आरपी मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए ।

बाथरोगसम्बन्धी यस खाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ताले बताए । नेपालमा मात्रै करिब १० लाख भन्दा बढी जनसंख्या यस रोगबाट पीडित भएको अनुगमन डा. अरुणकुमार गुप्ताले गरेका छन् ।

प्रतिक्रिया