मर्मतपछि बिजुली उत्पादनमा वृद्धि

पर्वत । बिग्रिएका सामानको मर्मतपछि मोदीखोला जलविद्युत् आयोजना केन्द्रबाट क्षमता अनुसारको बिजुली उत्पादन सुरु भएको छ ।

कुल उत्पादन क्षमता १४ दशमलव ८ मेगावाट रहेको आयोजनाबाट दैनिक १४ मेगावाटको आसपासमा बिजुली उत्पादन हुन थालेको हो । अघिल्ला वर्षहरूमा बढीमा ११ मेगावाट आसपासमा विद्युत् उत्पादन हुने गरेकोमा यो वर्ष ‘पावर हाउस’ मा प्रयोग भएको पुरानो ‘कुलर’ हटाएर नयाँ कुलर फेरेपछि उत्पादन बढेको जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए ।

शाहका अनुसार यसअघिका वर्षमा ११ मेगावाटको वरिपरि उत्पादन हुने गरेकोमा यो वर्ष १४ मेगावाट पुगेको र ३५ लाख रुपैयाँको लगानीमा कुलर फेरिएको प्रमुख शाहले जानकारी दिए ।

यसअघि कुलेखानी र मध्यमस्र्याङ्दी आयोजनामा गरेर १६ वर्ष काम गरिसकेका शाह आफैँ विद्युत् गृहका सामान्य खालका मर्मत गर्दै आएका छन् । एक वर्षअघि प्रमुख बनेर आएका शाहले मोदीखोला जलविद्युत् आयोजनामा आइपर्ने सामान्य मर्मत सम्भारका लागि अन्य आयोजनाका प्राविधिक बोलाउनुपर्ने अवस्था नरहेको बताए ।

मोदीखोला जलविद्युत् आयोजनामा बर्खायाममा दुई वटा टर्वाइन चलाएर र हिउँदमा एउटा मात्र टर्वाइनबाट बिजुली उत्पादन हुने गरेको छ । केन्द्र प्रमुख शाहका अनुसार एउटा टर्वाइनबाट तीन मेगावाटभन्दा कम बिजुली उत्पादन हुने अवस्था आएपछि दुवै टर्वाइनको लागि प्रयोग भएको पानीलाई एउटा मात्र टर्वाइनमा खसाल्ने गरिएको जानकारी दिए ।

प्रतिक्रिया