बाजुरामा औषधि खै ?

बाजुरा । यहाँका गाउँमा सरकारले औषधि नपठाउँदा स्थानीयहरू मर्कामा परेका छन् । गत वर्षदेखि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमका बिमितलाई औषधि उपलब्ध नगराउँदा सर्वसाधारण उपचारबाट वञ्चित हुन पुगेका हुन् ।

एक वर्षका लागि गरिने बिमामा दुईवटा स्वास्थ्य संस्थाबाट बिमितको उपचार र औषधिको व्यवस्था गरिने सम्झौता बिमा बोर्डले गरेको थियो । उत्तरपूर्वी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले कुनै प्रकारको औषधि उपलब्ध गर्न सकेको छैन ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको व्यवस्थाका लागि हालसम्म फार्मेसीको समेत व्यवस्था गरिएको छैन । सरकारले नदिएपछि औषधि आफैँले किन्नुपरेको स्थानीयको गुनासो छ । बिमा गरिँदा ११ सय ३३ प्रकारका औषधि बिमामार्फत उपलब्ध गराइने भनिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य प्रकारको औषधिसमेत नभएर मेडिकलबाट किन्नुपरेको बुढीनन्दा नगरपालिका–२ का गोकर्णकुमार गिरीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रले सम्झौता गरी बिमितहरूका लागि औषधि र उपचारको व्यवस्था गर्ने बताइएको थियो । सम्झौताअनुसार सेवा उपलब्ध गराउन नसकेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य बिमा बोर्डका संयोजक जनक साउदको भनाइ छ ।

बोर्डले भनेअनुसार सेवा दिन सक्छौँ भन्दै सम्झौता गरेका स्वास्थ्य संस्थाले सम्झौता अनुसारको सेवा प्रदान गर्नुपर्ने स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखा कार्यालय बाजुराका दर्ता अधिकारी शेरबहादुर थापाले बताए ।

यता, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका तत्कालीन प्रमुख डा. विजय शाहले सरकारले नै औषधि नपठाएको दुःखेसो पोखे । ‘कोल्टीमा इन्टरनेट सेवा राम्रोसँग नचल्नुका साथै बिमा बोर्डले उपलब्ध गराएका बिमित कार्ड रजिस्टेसन नभएको र औषधिसमेत छैन, उनले भने, ‘त्यसैले सेवा प्रवाहमा समस्या आएको छ ।’

बाजुरामा हालसम्म १४ हजार ५ सय बढीले स्वास्थ्य बिमा भरेका छन् । उता, जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बिमितहरूका लागि सेवा प्रवाह पनि गरिरहेको छ ।

जेठयता यो वर्षमा बिमा बापतको एक लाख रुपैयाँ बराबरको औषधि उपलब्ध भएको जानकारी जिल्ला स्वास्थ्य बाजुराले गराएको थियो । स्वास्थ्य बिमा बोर्डका अधिकारीहरूले भने देशैभरका स्वास्थ्य संस्थाको रकम एकैपटक तिर्ने प्रावधान भएकाले प्रक्रियामा रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया