कर्णाली प्रदेशको समृद्धिको ढोका

वेला–वेलामा भोकमरीको चपेटामा पर्ने गरेको नेपालको उत्तरपश्चिमी जिल्ला हुम्ला विस्तारै समृद्ध हुने चरणमा छ । चीनको स्वशासित प्रदेश तिब्बतको व्यापारिक नाका हिल्सामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार हिल्सा नाकाको अध्यागमन कार्यालय उद्घाटन गरेका छन् । हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालले जोडिनै लागेको छ । सिमकोटबाट तिब्बत जोड्ने नाका हिल्सासम्म सडक सञ्जाल पुग्न अब पाँच किलोमिटर मात्रै बाँकी छ । यो खण्ड निर्माण सम्पन्न हुनासाथ तराईबाट हिल्सा नाकासम्म सडक यातायातको पहुँच हुन्छ । हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर हिल्साबाट थोरै दुरीमा पर्दछ । कैलाश मानसरोवरबाट हिल्सासम्म चीनले सुविधासम्पन्न सडक निर्माण गरिसकेको छ । कैलाश मानसरोवर भारतीय हिन्दू पर्यटकहरूको मुख्य गन्तव्य हो । भारतबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो तथा सजिलो नाका हिल्सा हो । सडक यातायातको सुविधा नहुुँदा पनि वार्षिक हजारौँ भारतीय पर्यटकहरू हिल्सा नाका हुँदै कैलाश मानसरोवर पुग्ने गर्छन् । पछिल्ला दिनमा भारतीय पर्यटकहरूकै कारण सिमकोट तथा हिल्सा क्षेत्र गुल्जार हुन थालेको छ । सडक यातायातको पहुँच हुने हो भने हुम्लीको जीवनस्तरमा कायापलट हुन धेरै समय लाग्ने अवस्था छैन । थोरै जनसंख्या रहेको हुम्लालाई समृद्धितर्फ लैजाने मुख्य सपना हो हिल्सा नाका ।
चीन भ्रमण सम्पन्न गरी केही दिनअघि स्वदेश फर्केका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालगञ्जदेखि सिमकोट हु“दै हिल्सासम्म सुविधासम्पन्न सडक निर्माणमा चीनले सहयोग गर्ने बताएका छन् । करिब चार सय किलोमिटर लामो उक्त सडक सुविधासम्पन्न बनाइदिने वचन चीनले दिएको मुख्यमन्त्री शाहीको भनाइ थियो । यो सडक नेपालका लागि मात्रै नभएर चीनका लागिसमेत पर्यटकीय तथा व्यापारिक महत्वको छ । ट्रयाक खोल्ने काम नेपाल सरकार आफै“ले सम्पन्न गरिसकेका कारण स्तरोन्तिका लागि चीनले सहयोग गर्ने सम्भावना धेरै छ । मुलुकका सात प्रदेशमध्ये कर्णाली प्रदेश विकासका सबै सूचांकमा निकै पछाडि छ । तर, यो सडक निर्माण सम्पन्न भएको केही वर्षमै कर्णाली प्रदेशले आर्थिक समृद्धिमा अरू सबै प्रदेशलाई उछिन्ने प्रक्षेपण अर्थविद्हरूले गरेका छन् । कर्णाली राजमार्ग नाम दिएको यो सडक मुलुककै आर्थिक विकासको मेरुदण्ड सावित हुने सम्भावना पनि त्यत्तिकै छ । नेपाल र भारतबाट पश्चिमी तिब्बत पुग्नका लागि योभन्दा छोटो विकल्प अर्को छैन ।
हिल्सा नाका सुचारु हुुँदा नेपालका लागि तत्कालीन फाइदा भनेको तिब्बती सडकको प्रयोग हो । तिब्बतको सिगात्सेदेखि मानसरोवरसम्म ८ सय ९७ किलोमिटर लामो ६ लेनको सडक छ । जुन सडक नेपालको उत्तरी सीमा क्षेत्रबाट समानान्तर भई पूर्व–पश्चिम फैलिएको छ । सिगात्से संखुवासभा जिल्लाको उत्तरमा पर्छ भने मानसरोवर हुम्ला जिल्लाको उत्तरमा पर्छ । संखुवासभाबाट हुम्ला जानका लागि यही सडक प्रयोग गर्न सकिने अवस्था छ । यसैगरी, राजधानी काठमाडौंबाट हुम्ला पुग्न नेपालको सडकभन्दा तिब्बतको सडक निकै छोटो पर्छ । उदाहरणका लागि राजधानी काठमाडौंबाट नेपालगञ्ज हुुँदै हुम्ला पुग्न करिब १२ सय किलोमिटर दुरी पार गर्नुपर्छ भने तिब्बतको केरुङ हुुँदै हुम्ला पुग्न आठ सय किलोमिटर दुरी पार गरे पुग्छ । केरुङबाट मानसरोवर सम्मको दुरी ६ सय १९ किलोमिटर मात्रै हो । नेपालको हिमाली क्षेत्रमा अझै केही दशकसम्मका लागि पूर्व–पश्चिम राजमार्ग निर्माण गर्न सकिने अवस्था छैन । हिमाली जिल्लाहरूलाई तिब्बतको सडक सञ्जालस“ग जोडेर नेपालले सुविधा लिन सक्छ । हालै नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा सहमति भइसकेको छ । यो सहमतिअनुसार नेपालले चीनका जुनसुकै सडक पनि प्रयोग गर्न सक्छ । जसमध्ये तिब्बतको सिगात्सेदेखि मानसरोवरसम्मको सडक नेपालको आन्तरिक प्रयोजनका लागि पनि निकै उपयोगी छ । सहमति भए पनि व्यवहारमा अझै कार्यान्वयन भइसकेको छैन । अब व्यवहारमा कार्यान्वयन गर्न पनि सरकारले पहल गर्नुपर्छ । काठमाडौंबाट केरुङ हुुँदै हुम्लासम्म बस सेवा सञ्चालनका लागि सरकारले पहल गर्नुपर्छ । यसरी बस सेवा सञ्चालन गर्ने हो भने काठमाडौंबाट एक दिनमै हुम्ला पुग्न सकिन्छ ।

प्रतिक्रिया