दुवाकोटको वीर अस्पतालबाट ओपिडी सेवा

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट ओपिडी सेवा सुरु गरेको छ । बुधबारबाट वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरेको अस्पतालले आफ्नो भवन निर्माणको काम पनि सुरु गरेको छ ।

उक्त क्षेत्रका जनतालाई लक्षित गर्दै बहिरंग सेवा सुरु गरिएकोे अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । हाल मेडिकल अफिसर, नर्स, अहेव एक, कार्यालय सहयोगी, सुइपर, सुरक्षागार्डको स्थायी व्यवस्था गरिएको छ । भक्तपुरका बिरामीको थप स्वास्थ्य जाँच, शल्यक्रिया गर्नको लागि त्यही टिकट लिएर सिधै अस्पतालमा उपचार गराउन सकिने उनले बताए ।

काठमाडौंमा रहेको वीर अस्पतालमा भक्तपुरबाट टिकट काटेर आएका बिरामीलाई सबै सेवाका लागि पालो कुर्न नपर्ने व्यवस्थासमेत गरिएको छ । ६ महिनाभित्र ल्याब र एक्स–रे सेवाका लागि मेसिनको व्यवस्था गरिने र त्यसका लागि चाँगुनारायण नगरपालिकाले जनशक्तिको व्यवस्थापन गर्ने भएको छ । बिहान ९ देखि अपराह्न ५ बजेसम्म खुल्ने गरी ओपिडी सेवा सुरु गरेको निर्देशक बस्नेतले बताए ।

पहिलो दिन थोरै बिरामीले स्वास्थ्य जाँच (ओपिडी) गराए पनि विस्तारै बिरामीको संख्या बढ्दै जाने उनले बताए । ‘विशेषज्ञ सेवाका लागि हरेक दिन विभिन्न विभागका विशेषज्ञलाई आलोपालो गरेर दुवाकोटमा जाने व्यवस्था मिलाउँछौँ,’ निर्देशक बस्नेतले भने । नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रक्रियाअनुसार सरकारले दुवाकोटमा ५ सय ७० रोपनी जग्गा उपलब्ध गराइएपछि काम सुरु भएको हो ।

चालु आर्थिक वर्षमा उक्त जग्गामा विस्तारित वीर अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबारबाटै डिपिआरको काम सुरु हुने निर्देशकले बताएका छन् । विस्तारित वीर अस्पताल निर्माणको गुरुयोजना न्याम्सको सिनेटले पास गरिसकेको छ । १ हजारदेखि १५ सय शय्याको अस्पतालमा नर्सिङ, फार्मेेसी, स्वास्थ्यसँग सम्बन्धित कलेजलगायत आवासगृह बन्नेछ भने अस्पतालमा हेलिप्याड सुविधासहितको भवन हुनेछ ।

प्रतिक्रिया