भ्रष्टाचारकाे उत्कृष्ट नमुना

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौर नगरपालिका–४ का अध्यक्ष भुनेश्वर कुमार शाहीको आमाको नाममा वितरित सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको ठहर गरेको छ ।

शाहीकी आमा राजपतिदेवीको १२ वर्ष पहिले मृत्यु भइसकेको छ । १२ वर्षदेखि मृतक राजपतिदेवीको नाममा भत्ता उठाएर नगरपालिकाका कर्मचारीले खाएको अख्तियारको ठहर छ । आप्mनी मृतक आमाकै नाममा खुरुखुरु भत्ता खाने नगरपालिकाका कर्मचारीलाई कारबाही हुनुपर्ने शाहीले माग गरेका छन् ।

अख्तियारका कर्मचारी उनलाई खोज्दै घर पुगेपछि वडाध्यक्ष शाहीले आमाको नाममा भत्ता निकालिएको थाहा पाएका थिए । अख्तियारका कर्मचारीले आमाको बारेमा सोधखोज गरेपछि १२ वर्षदेखि भत्ता निकालेर खाएको आपूmले थाहा पाएको उनले बताए ।

मृत्यु भएको १२ वर्षपछि आमाको बारेमा सोधखोज गर्न कोही आउनेछ भनेर शाहीले कहिल्यै सोचेका समेत थिएनन् । वडाध्यक्ष शाहीकी आमाको मृत्यु भएको १२ वर्षदेखि नगरपालिकाले उनको नाममा सामाजिक सुरक्षा अन्तर्गतको ज्येष्ठ नागरिक भत्ता निकासा गरेको अख्तियारको टोलीले फेला पारेको थियो । दुई दाजुभाइ रहेका शाहीले आमा राजपतिको नामबाट कहिल्यै पनि सामाजिक सुरक्षाको रकम नबुझेको बताएका छन् ।

अख्तियार हेटाँैडामा परेको उजुरीका आधारमा खटिएका कर्मचारीले भत्ता बाँडिएको रहस्य पत्ता लगाएका थिए । सामाजिक सुरक्षा फाँटका अधिकृत सरोजलाल दास तथा कर्मचारीले किर्ते काम गरेर एउटै वडामा २ सय ५९ जना नक्कली भत्ता बुझेको रेकर्ड फेला परेको हो ।

यसअघि, पनि गौर नगरपालिकाका कर्मचारीहरूले मृत्यु भएका सयाँै व्यक्ति र उमेर नै नपुगेका व्यक्तिलाई भत्ता बाँडेको रेकर्ड बनाएर लाखौँ रुपैयाँ भ्रष्टाचार गरेका थिए । एक वर्षअघि पनि यस्तै प्रकृतिको घटनामा ठोस कारबाही हुन नसक्दा किर्ते कागज बनाएर सरकारी रकम भ्रष्टाचार गर्न कर्मचारीको मनोबल बढेको हो ।

यस विषयमा गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले सामाजिक सुरक्षाको रकममा अनियमितता भएको स्वीकार गर्दै केही वर्षदेखि सच्याउने कार्य भइरहेको दाबी गरे । अहिलेसम्म ६ सय बढीको नाम लगतबाट काटिएको उनले जानकारी दिए ।

प्रतिक्रिया