सिट गुम्ने गरी उपनिर्वाचन हुन्नः दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको सिट गुम्ने गरी वामदेव गौतमलाई निर्वाचन लड्न नदिने बताएका छन् । काठमाडौं–७ बाट नेता गौतमलाई उठाउने तयारी भइरहेका वेला उनले सिट गुम्ने गरी उपनिर्वाचन नहुने स्पष्ट पारेका हुन् ।

पाथीभरा समाज ताप्लेजुङले बुधबार काठमाडौंमा दसैँ, तिहारसहितका चाडपर्वका अवसरमा गरेको कार्यक्रममा उनले उपनिर्वाचन गराउने वा नगराउने भनेर पार्टीमा छलफल भए पनि निर्णय नभएको बताए ।

‘काठमाडौंको क्षेत्र नम्बर ७ मा वामदेव गौतम उठ्ने र जित्ने चर्चा चलिरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र मबीच यसबारे पटक–पटक छलफल भएको छ ।

यसबारेमा हामी छलफलको चरणमा छौँ तर, निर्णय भइसकेको छैन ।’ अध्यक्ष दाहालले पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन पनि आग्रह गरे । ‘हुन त पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन । त्यतिमा चाहिँ ढुक्क हुनुहोला,’ उनको भनाइ थियो ।

बुधबार बिहान मात्रै आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको जानकारी दिँदै उनले जनभावनानुसार कडारूपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको जनाए ।

‘कामको सन्दर्भमा कहाँ के पुगेको छैन, राम्ररी समीक्षा र गृहकार्य गरेर जनताले देख्ने गरी महत्वपूर्ण लिने र पहल गर्ने विषयमा हाम्रो छलफल केन्द्रित छ’, अध्यक्ष दाहालले भने, ‘विगतमा राजनीतिक नेतृत्व र दूरदृष्टिको अभावमा विकास, सुशासन र स्थिरताको अभावमा हामी पछिपरेका हौँ ।

अहिलेको जनमत स्थिरताको पक्षमा छ । पार्टी एकताले पनि हामीलाई विकासको अभियान सञ्चालनका लागि बल दिएको छ । विकासका लागि प्रतिपक्षको पनि समान मत छ । यस अवसरलाई उपयोग गर्नुपर्छ ।’

फरक प्रसंगमा अध्यक्ष दाहालले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराईलाई चाँडै मन्त्री बनाउने आश्वासनसमेत दिए ।

उनले निर्वाचनका क्रममा गरिएको प्रतिबद्धता अहिले पूरा गर्न नसकिएको बताउँदै एक दिन त्यो वाचा पूरा गरिने बताए । ‘घरमा शोक परेकाले मैले ताप्लेजुङसहित धेरै जिल्लामा सम्बोधन गर्न पाइनँ’, उनले भने, ‘ताप्लेजुङमा भाषण गर्ने क्रममा हाम्रा अध्यक्ष केपी शर्मा ओलीले योगेशजीलाई मन्त्री बनाउँछु भनेको कुरा मैले हेरेँ । योगेशजीलाई मन्त्री बनाउने कुरामा, वाचा पूरा गर्ने कुरामा हामी दुवैजना प्रतिबद्ध छौँ ।’

प्रतिक्रिया