कुरूप बन्दै भरतपुर महानगर

बजार क्षेत्रमा जथाभावी राखिएको विभिन्न व्यावसायिक होर्डिङ बोर्ड तथा ब्यानरहरूले भरतपुर महानगरपालिका कुरूप बन्दै गइरहेको छ । बजारमा अनधिकृत रूपमा राखिएका व्यावसायिक होर्डिङ बोर्ड केही वर्षअगाडि भरतपुर नगरपालिका हुँदा हटाइएको भए पनि यसले निरन्तरता पाउन नसक्दा बजारको सुन्दरता हराउँदै गइरहेको हो ।

भरतपुर नगरपालिका हुँदा तत्कालीन कार्यकारी अधिकृत नारायण सापकोटा आफैँ बजारमा गएर होर्डिङ हटाउँदै हिँडेका थिए । बजार क्षेत्रबाट होर्डिङ बोर्ड हटाइँदा केही समय भरतपुरको सुन्दरता थपिएको भए पनि सापकोटाको सरुवासँगै अभियानले निरन्तरता पाउन सकेन ।

सापकोटा सरुवा भएर अन्यत्र गएसँगै त्यसपछि आएका कार्यकारी अधिकृतहरूले बजार क्षेत्रको सुन्दरतालाई ध्यान दिन नसक्दा बजार नै कुरूप हुनेगरी जथाभावी होर्डिङ बोर्ड राख्ने प्रवृत्ति मौलाउँदै गएको छ । भरतपुर नगरक्षेत्रभित्र कति मात्रामा होर्डिङ बोर्ड राखिएका छन् भन्ने विषयमा नै महानगरपालिका अनभिज्ञ रहेको छ ।

बजारको सौन्दर्य नै हराउने गरी भरतपुरका मुख्य बजार क्षेत्रमा व्यापारिक होर्डिङ बोर्डहरू राख्न नहुने स्थानीय बासिन्दा बताउँछन् । सहरमा सूचनामूलक, जानकारीमूलक चिह्नहरू राख्दा फाइदा हुने भए पनि अनावश्यक रूपमा व्यावसायिक होर्डिङ बोर्ड राख्दा सहरको सुन्दरता हराएको भरतपुर–२ का भरत खनाल बताउँछन् ।

व्यापारिक होर्डिङ बोर्डहरू हटाएर सुन्दर भरतपुर बनाउनका लागि महानगरपालिकाले चासो दिनुपर्ने खनालको भनाइ छ । ‘भरतपुर भनेको देशकै एउटा नमुना सहर हो, यहाँ सबै ठाउँका मान्छेहरू आउने गर्दछन्’, खनालले भने, ‘सफा, सुन्दर, हराभरा भरतपुरको परिचय दिनका लागि हामीले कञ्जुस्याइँ गर्नु हुँदैन ।

त्यसैले नगरमा अस्वाभाविक रूपमा रहेका होर्डिङ बोर्ड हटाउनुपर्छ ।’ जथाभावी होर्डिङ बोर्ड राखिँदा सवारी चालकको ध्यान होर्डिङ बोर्डमा जाँदासमेत दुर्घटना बढ्नसक्ने भएकाले बजार क्षेत्रबाट हटाउनुपर्ने खनालको भनाइ छ । बिजुलीका पोलमा हुन् अथवा सार्वजनिक स्थानमा नै किन नहून् जथाभावी राखिएका होर्डिङ बोर्डले बजार क्षेत्रको सौन्दर्य नै हराउँदै गएको छ ।

नगर क्षेत्रभित्र जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउँदै महानगरपालिकाबाट स्वीकृत लिएर मात्रै होर्डिङ बोर्ड राख्नका लागि व्यवस्था गरिएको महानगर बताउँछ । होर्डिङ बोर्डलाई व्यवस्थित बनाउनकै लागि भनेर महानगरपालिकाले निजी क्षेत्रसँग सहकार्यसमेत गरेको भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्यालले बताए ।

अर्यालका अनुसार बजारको सौन्दर्य नबिग्रने गरी निश्चित ठाउँमा व्यवस्थित तरिकाले होर्डिङ बोर्ड राख्नका लागि निजी कम्पनीलाई ठेक्कामा दिइएको छ । भरतपुरमा होर्डिङ बोर्ड राख्नका लागि काठमाडौंको एडभरटाइजिङ युज प्रालिले महानगरपालिकालाई तीन वर्षको १ करोड १ लाख रुपैयाँ दिनेगरी एक वर्ष अगाडि सम्झौतासमेत गरेको छ ।

प्रालिले महानगरपालिकाको दररेटभन्दा बढी रकम लिएर व्यावसायिक प्रतिष्ठानको विज्ञापन राख्न नपाउने अर्यालले बताए। अर्यालका अनुसार १२ स्क्वायर फिटसम्मको होर्डिङ बोर्डको प्रतिस्क्वायर फिट १ हजार, त्योभन्दा माथि ३० स्क्वायर फिटसम्म प्रतिस्क्वायर फिट १ हजार ५, भित्तेलेखन प्रतिस्क्वायर फिट २५ रुपैयाँ लिनुपर्ने गरी महानगरपालिकाले विज्ञापनको दररेट तयार गरेको छ ।

त्यस्तैगरी, पोल ब्यानर एक हप्तासम्मको प्रतिब्यानर ३ सय रुपैयाँ, लामो ब्यानर बाटो वारपार राखेको प्रतिहप्ता ५ सय रुपैयाँ लाग्ने गरी महानगरपालिकाले दररेट कायम गरेको भए पनि हालसम्म अव्यवस्थित होर्डिङ बोर्ड हटाउन पनि सकेको छैन भने कुनै पनि होर्डिङ बोर्डबाट राजस्वसमेत असुल भएको छैन ।

होर्डिङ बोर्डलाई व्यवस्थित बनाउनका लागि भनेर गरिएको ठेक्का सम्झौतासमेत राम्रोसँग कार्यान्वयन हुन नसकेको महानगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए ।

होर्डिङ बोर्ड हटाएर बजारलाई व्यवस्थित बनाउनका लागि केही दिन लाग्ने भए पनि यसलाई प्राथमिकतामा राखेर काम भएको सुवेदीको भनाइ छ । जथाभावी राखिएका होर्डिङ बोर्डले सहरलाई कुरूप बनाउनुका साथै दुर्घटनामा समेत वृद्धि गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रतिक्रिया