५ मध्ये १ युवामा मानसिक समस्या

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर आफूहरू अगाडि बढ्ने बताएका छन् ।

मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्यको राष्ट्रिय अभियान नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

डा. यादवले अन्य स्वास्थ्य समस्याजस्तै गरी मानसिक स्वास्थ्य समस्यालाई पनि सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । यस वर्षको २६औँ विश्व मानसिक स्वास्थ्य दिवसको मूल नारा ‘बदलिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ तय गरिएको छ ।

विश्व मानसिक स्वास्थ्य महासंघले सन् १९९२ देखि नै हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसको रूपमा मनाउँदै आएको छ ।

विश्व मानसिक स्वास्थ्य महासंघले विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर गरेको एक अध्ययनअनुसार हरेक ५ जना युवामध्ये १ जनामा अर्थात् कुल युवा जनसंख्याको २० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएको हो ।तर पनि विश्वको कुल स्वास्थ्य बजेटको चार प्रतिशत बजेट मात्र युवाहरूको मानसिक सु–स्वास्थ्यको लागि खर्च गर्ने गरिएको छ ।

अध्ययनअनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुन्छ र २४ वर्षको उमेरसम्ममा ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्यमा देखा परिसकेको हुन्छ । १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या पाइएको छ ।

कुल आत्महत्याको ७५ प्रतिशत आत्महत्या निम्न नथा मध्यम आयस्तर भएका देशहरूमा हुने गरेको छ । यही अध्ययनअनुरूप नै यस वर्षको नारा तय गरिएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. केके राईले मानसिक स्वास्थ्य सेवाका लागि परामर्शको कमी भएको बताए ।

उनले देश संघीय संरचनामा गइरहँदा सातै प्रदेशमा मानसिक स्वास्थ्य सेवा अस्पताल खोलिनुपर्नेमा जोड दिए । साइक्याट्रिक असोसिएसन अफ नेपालका अध्यक्ष एवं कान्ति बाल अस्पतालका मनोरोग विशेषज्ञ डा. अरुणराज कुँवरले मानिसक स्वास्थ्य सेवासम्बन्धी नीति नियम बने पनि कार्यान्वयनमा आउन नसकेको बताए ।

उनले भने, ‘स्वास्थ्यको बजेटमा पनि ८ देखि ९ प्रतिशत मानसिक स्वास्थ्य सेवालाई दिइयो भने यसमा धेरै सुधार आउँछ, अहिले त १ प्रतिशत पनि छैन ।’ त्यस्तै डा. कुँवरले ठूला मानिसमा भन्दा बढी समस्या बच्चामा हुने बताए । पढाइदेखि लिएर अरुको नक्कल गर्ने उमेर एउटै हुने भएकाले युवावस्था र बाल्यावस्थामा मानसिक स्वास्थ्य समस्या हुने बताए ।

संसारभर प्रत्येक १० मिनेटमा हिंसाको कारणले एकजना किशोरीको मृत्यु हुने गरेको छ । १८ देशका एक लाख युवाहरूलाई लक्षित गरेर गरिएको सर्वेक्षणमा २५ प्रतिशतले शारीरिक बनावट र सौन्दर्य, २५ प्रतिशतले लैंगिक वा यौनिकताका कारण र २५ प्रतिशतले आफ्नो राष्ट्रियता तथा जातीय पहिचानको आधारमा आफू खिसीट्युरीमा परेको कुरा व्यक्त गरेका थिए । त्यस्तै, ८३ प्रतिशतले यस्तो किसिमको खिसीट्युरीका कारण आफ्नो आत्मसम्मानमा नकारात्मक असर परेको जनाएका थिए ।

प्रतिक्रिया