पार्कमा नेपाल–बंगलादेशका कला

ललितपुर । नेपाल र बंगलादेशबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ कला प्रदर्शनी भएको छ । ‘नेपाल–बंगलादेश मैत्रीपूर्ण कलाप्रदर्शनी २०१८’ शीर्षकमा भएको प्रदर्शनीमा करिब दुई दर्जन कलाकारका कलाकृति राखिएको छ ।

नेपालका लागि बंगलादेशकी राजदूत मासफी विन्ते साम्स र ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले संयुक्तरूपमा उद्घाटन गरेको उक्त प्रदर्शनीमा नेपाल र बंगलादेशको संस्कृति र समसामयिक कलालाई देख्न सकिन्छ । पुल्चोकस्थित पार्क ग्यालरीमा भएको उक्त प्रदर्शनीमा १५ जना बंगलादेशी र ७ जना नेपाली अग्रज तथा तथा युवा कलाकार तथा फोटो पत्रकारका चित्र तथा तस्बिर राखिएको छ ।

प्रदर्शनीमा बंगलादेशका कलाकारमा समरजित राय चौधरी, हामिजुद्धमान खान, रञ्जित दास, साइदा कमाल, अख्तर जहान, एमडी फरिद हुसेन सिद्धकुल, एमडी रसिदुल हुडा सरकार, कारु तितस, अनिसुज्जमान, रसिद कमल रसल, हारुन फकिर, गुलाम मुस्तफा र गुलाम रसु रहेका छन् । यसैगरी, बंगली फोटोपत्रकारमा जुवेर जेहेमान खान र केएम जहनजिर अलाम रहेका छन ।

नेपाली कलाकारमा नरेन्द्रबहादुर श्रेष्ठ, रागिनी उपाध्याय, किशोर नकर्मी, अजय देशार र अनिता भट्टराई रहेका छन् भने फोटोपत्रकारमा राजभाई सुवाल, दिपेन्द्रमुनि बज्राचार्य र उमेश पुनका तस्बिर राखिएको छ ।

राजदूत साम्सले नेपाल र बंगलादेश दुवै देश कलामा धनी रहेकोले यसको विकास र विस्तारका लागि लाग्नुपर्ने बताइन् । उनले दुवै देशको सम्बन्धको विषयमा चर्चा गर्दै साम्सले कलाको सहरको रूपमा परिचित ललितपुरमा नेपाल र बंगलादेशको संयुक्त कला प्रदर्शनी हुनुको महत्व विशिष्ट रहेको धारणा राखिन् ।

महानगरकी उपमेयर गीता सत्यालले ललितपुरलाई वास्तविक कलाको सहर बनाउन महानगरपालिकाले विभिन्न कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

नेपाल र बंगलादेशको कलाको पछिल्लो परिदृश्य बुझ्न प्रदर्शनी निकै फलदायी रहेको कला लेखक मदन चित्रकारले बताए । उक्त कार्यक्रममा साहित्यकार मञ्जुल लगायतका चित्रकार तथा कलाकारको बाक्लो उपस्थिति रहेको थियो । कला प्रदर्शनी आउँदो २३ असोजसम्म चल्नेछ ।

प्रतिक्रिया