काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षभन्दा तीन महिना अगाडि नै कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रणालीलाई अनुशरण गर्दै बोर्डले विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरेको हो ।
बोर्डका परीक्षा अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार आठ सय ९१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
अक्षरांकन पद्धतिको आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५ सय ५ विद्यार्थीले परीक्षा दिएका थिए ।
परीक्षामा फराम भरेका ५ लाख ४८ हजारमध्ये २० हजार अनुपस्थित भएका थिए । बोर्डका अनुसार नियमिततर्फ जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याउने विद्यार्थी १ हजार १ सय ४५, जिपिए ३ देखि ३ दशमलव ६० ल्याउने विद्यार्थीको संख्या आठ हजार नौ सय ४९ रहेको छ ।
यस्तै, जिपिए २ दशमलव ८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । त्यसैगरी, २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २ दशमलब १ देखि २ दशमलब ४० ल्याउने ८६ हजार सात सय ७० रहेको छ ।
जिपिएतर्फ १.६१ देखि २ जीपिए ल्याउने विद्यार्थीको संख्या धेरै रहेको छ । ९२ हजार पाँच सय ९३ विद्यार्थीले सी ग्रेड ल्याएका छन् । त्यस्तै, जिपिए १ दशमलव २१ देखि १ दशमलव ६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ० दशमलव ८१ देखि १ दशमलब २० ल्याउने आठ हजार एक सय २७ र जिपिए शून्यदेखि शून्य दशमलव ८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् । परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।
बोर्डले गत वर्षको तुलनामा निक्कै छिटो गरि नतिजा सार्वजनिक गरेको हो । अध्यक्ष पौडेल भन्छन्, ‘विगतका वर्षभन्दा केही छिटो तयारी गरिएको थियो । हामी सोही लक्ष्यबमोजिम नतिजा प्रकाशन गर्न सफल भएका छौ ।’ विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भए पनि नतिजा भने पुस वा माघमा मात्रै सार्वजनिक हुने गरेको थियो । यसपटक पनि नतिजा विषयगत रूपमा ग्रेडिङमा सार्वजनिक भएको छ ।
साथै, बोर्डले कक्षा ११ र १२ को भर्नादेखि परीक्षा र नतिजा प्रकाशन सम्मको वार्षिक कार्यतालिका बनाएको छ । बोर्डले पहिलोपटक भर्नादेखि परीक्षाफल सार्वजनिक गर्ने बेलासम्मको कार्यतालिका तय गरेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेल भन्छन् ‘मुलुकभरका शिक्षण संस्थामा एकरूपता कायम गर्न र कामकारबाहीलाई व्यवस्थित गर्न कार्यतालिका तोकिएको हो ।’
कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भदौ मसान्तभित्र रजिस्ट्रेसन फाराम वितरण सुरु गरेर असोज २१ भित्र संकलन गरिसक्ने उल्लेख छ । पुस १५ देखि माघ १५ भित्र कक्षा ११ र १२ को नियमित, आंशिक र ग्रेडवृद्धि परीक्षार्थीको परीक्षा आवेदन फाराम भरिसक्नुपर्नेछ । कार्यतालिकाअनुसार वैशाख र जेठमा सञ्चालन हुने दुवै कक्षाको परीक्षा तालिका माघ मसान्तसम्म प्रकाशित गरेर परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्नेछ ।
कक्षा १२ को प्रयोगात्मक परीक्षा चैत मसान्त र कक्षा ११ को वैशाख १५ भित्र सम्पन्न गरी प्राप्तांक बोर्डको कार्यालयमा पठाइसक्नुपर्ने पौडेलले बताए । बोर्डले बाह्य निरीक्षक नपठाउने विषयको भने विद्यालयले प्रयोगात्मक परीक्षा सञ्चालन गरी चैत मसान्तभित्र प्राप्तांक पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो सातादेखि र ११ को अन्तिम सातादेखि सुरु हुनेछ । ग्रेडवृद्धि परीक्षा १२ कक्षाको नतिजा प्रकाशन भएको ३५ र कक्षा ११ को ४५ दिनभित्र हुने कार्यतालिकामा उल्लेख छ । त्यस्तै कक्षा १२ को नतिजा प्रकाशन प्रत्येक शैक्षिक सत्रमा साउन मसान्तभित्र र ११ कक्षाको असोज मसान्तभित्र गरिसक्नुपर्नेछ । साथै, कक्षा ११ को परिक्षामा अन्य विषयमा राम्रो ग्रेड ल्याएका तर, एक विषयमा डि, डि प्लस वा ‘ई’ ग्रेड ल्याएका विद्यार्थीले आगामी मंसिर ८ गतेबाट सञ्चालन हुने ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया