खाँदबारी अस्पतालमा जटिल शल्यक्रिया

संखुवासभा । जिल्ला अस्पताल खाँदबारीमा सेवा सुविधा नभएर वेलावेलामा चर्चामा आउने गरेको छ । अस्पतालभित्रका आन्तरिक कलहका समाचार पनि प्रशस्तै आएका हुन् ।

तर, सेवाग्राहीका यस्ता विविध गुनासा हुँदाहँुदै पनि अस्पतालले नमुना काम गरेर देखाउन सफल भएको छ । त्यसैको उदाहरण हुन् नुमकी सृष्टि राई ।

मकालु गाउँपालिका–५ पाथीभरा उम्लिङकी सृष्टी राई सामान्य पेट दुःखेपछि जिल्ला अस्पताल खाँदबारी आइन् । अस्पताल आएको केहीबेरपछि उनलाई थामिनसक्नु गरी पेट दुख्न सुरु भयो । चिकित्सकले भिडियो एक्स–रे गरे । त्यसपछि थाहा भयो उनको पाठेघर बाहिर गर्भ बसेको ।

गर्भ फुटेपछि आन्तरिक रक्तश्राव सुरु भइसकेको थियो । चिकित्सकले पनि उनलाई थप उपचार गर्न रिफर गरे । तर, सडक मार्ग वर्षात्ले हिलाम्मे भएकाले उनको शल्यक्रिया गर्न सुविधा सम्पन्न अस्पताल पठाउन समस्या भयो । हवाइजहाजबाट पठाउन पनि टिकट मिलेन ।

त्यसपछि जिल्ला स्वास्थ्य प्रमुख डा.लक्ष्मण खड्का, डा. युवराज बस्नेत, डा. सिर्जना पाण्डेय लगायतको चिकित्सकको टोली अन्योलमा परे । शल्यक्रियापछि राईलाई आइसियुमा राख्नका लागि सुविधा यहाँ थिएन । हिलाम्मे सडकमा बाहिर रिफर गर्दा बीचमै ज्यान गुमाउने सम्भावना त्यतिकै थियो ।

उनले भने, ‘मौसमका कारण जहाजमा पनि पठाउने सम्भावना भएन । व्यथाले राईलाई झन्झन् च्यापिसकेको थियो, उपचारमा संलग्न डा. युवराज बस्नेतले भने, ‘सडक मार्ग र जहाजबाट लैजान नसक्ने भएपछि हामीले यहीँ शल्यक्रिया गर्ने आट गर्यौँ ।’ पाठेघर बाहिर गर्भ बसेको फुटेपछि शल्यक्रिया गराउने सृष्टी पहिलो भएको उनले बताए । झन्डै साढे दुई घण्टा लामो प्रयासपछि राईको शल्यक्रिया सफल भयो । राईको पाठेघर बाहिर करिब सात हप्ताको गर्भ फुटेको थियो, स्वास्थ्य प्रमुख डा. खड्काले भने, ठूलो रिक्स मोलेर मंगलबार शल्यक्रिया भयो ।

उनको पाठेघरमा तीन लिटर रगत जमिसकेको थियो, भित्रभित्रै आन्तरिक रक्तश्राव भएको थियो । ‘पर्याप्त उपकरण नहुँदा सुरुमा हामीले रिक्स मोल्न चाहेनौँ’, उनले भने, पछि सबैको सल्लाहअनुसार यहीँ सल्यक्रिया गरेर आमालाई बचायौँ । उनको निःशुल्क शल्यक्रिया भयो ।
शल्यक्रियापछि उनलाई तीन युनिट रगत दिइएको छ ।

बिहान आठ बजे पेट दुख्न थालेपछि उनका पति उत्तमकुमारले अस्पताल ल्याएका थिए । उनको दिउँसो चार बजे शल्यक्रिया भएको थियो । सृष्टीलाई गर्भ बसेको समेत पत्तो थिएन, उत्तमले भने, अस्पतालमा डाक्टरले पाठेघर बाहिर बसेको गर्भ फुटेको जानकारी दिएपछि छक्क परे ।

अस्पताल आउनुअघि नै फुटिसकेको रहेछ, उनले भने, बाहिर उपचार गर्न लैजान समस्या थियो, माया मारिसकेको थिएँ । चिकित्सक मेरा लागि भगवान् बने । उनले भने, ‘हवाइजहाजको टिकट पनि पाइएन, धेरै प्रयास गरेँ, पानी परिरहेकाले सडक मार्गबाट लैजान सक्ने अवस्था थिएन् ।’

‘एम्बुलेन्स ल्याएर सहरका अस्पताल लैजान पत्नीलाई भित्र राख्न खोज्दा ढलिन्’, उनले भने, ‘फेरी चिकित्सकलाई यहीँ जोखिम मोलेर भए पनि शल्यक्रिया गरिदिन आग्रह ग¥यौँ ।’ जिल्लामै जटिल प्रकृतिका शल्यक्रिया हुँदा पैसा पनि बचेको उनले बताए । ‘ऋण खोजेर भए पनि उपचार गर्न बाहिर लैजानुपर्ने थियो’, उनले भने,‘ निःशुल्क उपचार भयो, धेरै खुसी छु ।’ पत्नीले नयाँ जीवन पाएको उनले बताए । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ ।

बुधबार पनि चिचिला गाउँपालिका–२ की २६ वर्षीया पासाङ शेर्पाको पनि यहीँ प्रकृतिको सफल शल्यक्रिया गरिएको छ । उनको पनि पाठेघर बाहिर गर्भ बसेको थियो । उनको पाठेघरमा राईको भन्दा बढी रगत जमिसकेको थियो । डिस्चार्ज भएर जाँदा सृष्टी र पासाङलाई यातायात खर्चवापतको रकम पनि अस्पतालले उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया