उल्टो पाइला बजारमा

काठमाडौं । कवि लता कार्कीद्वारा लेखिएको कवितासंग्रह ‘उल्टो पाइला’ सार्वजनिक भएको छ । काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, साहित्यकार राजन मुकारुङ तथा समीक्षक वन्दना ढकाल र कवि लता कार्कीले संयुक्तरूपमा कृति विमोचन गरे ।

समीक्षक ढकालले श्रमजीवी जनताका दुःखसुखलाई कवितामार्फत उठाएको बताइन् । जनताका आवाज बोल्ने एक नारी हस्ताक्षरको नेपाली साहित्यमा आगमन भएको बताउँदै उनले भनिन्, ‘स्रष्टाहरूले आजको समाज लेख्ने हो, कविले इमानदारीपूर्वक आजको समाज लेख्न कोसिस गरेकी छन् ।’

साहित्यकार मुकारुङले कवि लता यौटा बलियो सम्भावनासहित नेपाली साहित्यमा आएको बताए । उनले अबको नेपाली साहित्य मौलिकता सहितका आउनुपर्नेमा उनको जोड दिए । पूर्वकुलपति काइँलाले कवि लतालाई ‘पोथी बास्नु हुँदैन’ भन्ने उक्तिलाई नयाँ शैलीमार्फत प्रस्तुत गरेकोमा शुभकामना व्यक्त गरे ।

कवि लताले कवितामार्फत समाजको आवाज बोल्ने कोसिस गरेको भनाइ राखिन् । उक्त संग्रह चिन्डो बुक्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया