बिरुवा रोपेर मात्रै रुख काटौँ

०४९ सालमा त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गका आधा दर्जन पुल भत्कायो । तत्कालको समस्या टार्न सरकारले बेलायतबाट बेलिब्रिज सहयोग माग्यो । तर, बेलिब्रिज बोक्ने ठूला विमान नेपालको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने देखियो । मझौला विमानमा बेलिब्रिज ओसार्नुपर्ने बाध्यता आइलाग्यो । यो बाध्यतापछि नेपालमा ठूलो र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने अवधारणा सुरु भएको हो । तर कहाँ निर्माण गर्ने भन्ने गृहकार्यका लागि चार वर्ष समय लाग्यो । ०५३ सालमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय भयो । यो निर्णय भएको २२ वर्ष बितिसकेको छ । तर, अहिलेसम्म डिपिआर ( डिटेल प्रोजेक्ट रिपोर्ट–विस्तृत परियोजना प्रतिवेदन) बन्न सकेको छैन । यो २२ वर्षको अवधिमा मुलुकमा २३ वटा सरकार बनिसकेका छन् । हरेक सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफूले प्रगति गरेको दाबी गरेका छन् । तर, अहिलेसम्म के प्रगति भयो त ? जनताले देख्न र सुन्न पाएका छैनन् । केपी ओली नेतृत्वमा बनेको वर्तमान सरकारले सुरुआती दिनमै निजगढ विमानस्थल निर्माणको नारा अघि सारेको थियो । तर, सरकार गठन भएको ६ महिना बितिसक्दासमेत शुभ संकेत देखिएको छैन । बरु जंगल विनाश हुने तर काम अघि नबढ्ने अशुभ संकेत देखिएका छन् ।
जब–जब नेपालमा राष्ट्रिय गौरवका ठूला परियोजना निर्माणको प्रयास सुरु हुन्छ तब तब अदृश्य शक्तिको लगानीमा केही गैर सरकारी संस्थाहरूले वातावरण संरक्षणका मुद्दा उठाउन थाल्छन् । ०४९ सालमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने प्रयास हुनासाथ सुरु भएको यो सिलसिला अझै झ्यांगिदै गएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सन्दर्भमा पनि यो कुरा उठेको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले निर्माण स्थलमा पर्ने रुख कटानको प्रस्ताव अघि बढाएका छन् तर वनमन्त्री शक्तिबहादुर बस्नेतले रोकिरहेका छन् । वातावरण संरक्षणवादीहरूले जंगल विनाश गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुभन्दा त्यसको विकल्प खोज्नुपर्ने दबाब दिन थालेका छन् । संरक्षणवादीहरूले २५ लाख रुख काटिने दाबी गरेका छन् । तर, कति रुख काटिने हो ? पर्यटन मन्त्रालयले पनि त्यसको यकिन तथ्यांक सार्वजनिक गरेको छैन । पर्यटन मन्त्रालयले कहिले दुई लाख २५ हजार रुख काटिने तथ्यांक सार्वजनिक गरेको छ भने कहिले चार लाख रुख काटिने तथ्यांक सार्वजनिक गरेको छ ।
निजगढको आठ हजार हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण गरिँदा करिब चार हजार हेक्टर जंगल विनाश हुने कुरा सही हो । तर, नेपालका लागि त्यो चार हजार हेक्टर जंगल महत्वपूर्ण हो कि ? अन्तर्राष्ट्रिय विमानस्थल भन्ने विवादमा समय खेर फाल्नुहुन्न । जंगलको महत्व पनि आफ्नो ठाउँमा छ । त्यति नै जंगल कुनै अपायक ठाउँमा हुर्काउन सकिन्छ । तर, २२ वर्षको यो अवस्था हेर्दा जंगल मासिने तर विमानस्थल नबन्ने हो कि ? भन्ने आशंका उत्पन्न भएको छ । डिपिआरसमेत सम्पन्न नभएको अवस्थामा रुख काट्न हतार गरिनुले शंका उत्पन्न गराएको हो । एउटा रुख बराबर पाँच वटा रुख रोप्ने दाबी पर्यटन मन्त्रीको छ । तर, काम सुरु गरिएको खै ? रुख काट्नुभन्दा पहिले नै रुख रोप्न केले छेक्छ ? २२ वर्षअघि नै रुख रोपिएको भए यतिवेला निजगढको भन्दा ठूलो जंगल भइसक्थ्यो । संरक्षणवादीहरूले बखेडा निकाल्न सक्ने अवस्था हुने थिएन । अझै पनि समय घर्किएको छैन । डिपिआर सम्पन्न भई निर्माण सुरु हुन अझै तीन वर्ष लाग्छ । आजै रुखहरू रोप्न थालौँ ।

प्रतिक्रिया