इरानविरुद्धका प्रतिबन्ध खुकुलो पार्न आईसीजेको आदेश

द हेग । अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले इरानमाथि पुनः लगाइएका प्रतिबन्धहरू खुकुलो पार्न संयुक्त राज्य अमेरिकालाई आदेश दिएको छ।

इरानसँग गरिएको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट बाहिरिएपछि अमेरिकाले इरानमाथि पुनः प्रतिबन्धहरू लगाएको थियो। तेहरानको पक्षमा उभिँदै आईसीजेले , खानेकुरा र औषधिजस्ता ‘अत्यावश्यक’ वस्तुको निर्यातलाई अनुमति दिइनुपर्ने बताएको छ।

अमेरिकाले चाहिँ आफ्नो राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय भएकोले त्यसबारे आदेश दिने क्षेत्राधिकार आईसीजेको नभएको तर्क गरेको छ।
द हेगमा अवस्थित आईसीजेका आदेशहरू बाध्यतात्मक भए पनि त्यसलाई कार्यान्वयन गर्ने उसको सामर्थ्य छैन। आईसीजे संयुक्त राष्ट्रसङ्घको प्रमुख न्यायिक अंग हो र त्यसले सदस्य राष्ट्रहरूबीचको विवादको छिनोफानो गर्दछ।

तर संयुक्त राज्य अमेरिका र इरान दुवैले विगतमा आईसीजेका आदेशहरूको बेवास्ता गरेका दृष्टान्त पनि छन्।  बुधवार निर्णय सुनाउँदै आईसीजेका अध्यक्ष न्यायाधीश अब्दुल कवि युसुफले भने, ‘अमेरिकाले इरानी भूभागमा मानवीय आवश्यकताका सामानहरूको निर्बाध निर्यात गर्न दिनुपर्छ भन्ने यो अदालत ठान्दछ।’

इरानको विदेश मन्त्रालयले आईसीजेको आदेशले ‘इस्लामिक गणतन्त्र इरानलाई समर्थन र अमेरिकी प्रतिबन्धहरूको अवैधानिकता एवम् दमनलाई पुष्टि’ गरेको प्रतिक्रिया दिएको छ।

यद्यपि द नेदरल्यान्ड्सस्थित अमेरिकी राजदूतले ‘इरानले आग्रह गरेको ठूलो स्तरका कदम चाल्न अदालते अस्वीकार गरेको’ भन्दै ट्वीट गरेका छन्।

गत मेमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः प्रतिबन्धहरू लगाउन आदेश दिएपछि इरानको अर्थतन्त्र खस्केको छ। इरानी रियालको मूल्यमा व्यापक रूपमा घटेको छ।

द हेगस्थित बीबीसीकी अन्ना होलिगान आफ्नो विश्लेषणमा भन्छिन्, ‘आईसीजेको आदेशले अमेरिकाका दण्डात्मक कदमहरूलाई आंशिक रूपमा खुकुलो पार्न भनेको छ।’

त्यसमा औषधि, चिकित्सकीय आपूर्ति र उपकरण, खाद्यान्न, कृषि उत्पादन र उड्डयन सुरक्षाका उपकरण समेटिएका छन्। आर्थिक युद्धका रूपमा व्याख्या गरिएको मुद्दामाथि अन्तर्राष्ट्रिय न्यायाधीशहरूले आदेश दिएको यो सामान्यतः यो पहिलो पटक हो।

प्रतिक्रिया