नयाँ भवन बनाउँदै तिलगंगा

भक्तपुर । तिलगंगा आँखा अस्पतालले भक्तपुरमा नयाँ भवन निर्माण गर्ने भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति र तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सन्दुक रुइतबीच भएको छलफलमा च्यामासिंहमा आँखा अस्पताल निर्माण गर्ने सहमति भएको हो ।

भक्तपुर—९ च्यामासिंहमा रहेको भक्तपुर जिल्ला सामुदायिक आँखा केन्द्रमा आँखाको सल्यक्रिया तथा सफाइ गर्ने स्थान अभाव हुँदा सोही ठाउँमा तिलगंगा आँखा अस्पतालले नयाँ भवन बनाउने योजना अघि बढाएको हो ।

‘च्यामासिंहमा ख्वपः अस्पताल निर्माणका लागि छुट्टाएको १० रोपनी जग्गा मध्येको एक रोपनी तिलगंगा आँखा अस्पताललाई दिनेछौँ, भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिए । ‘केन्द्रलाई भवन निर्माणका लागि आवश्यक पर्ने जमिन नगरपालिकाले उपलब्ध गराउनेछ,’ प्रजापतिले अगाडि भने, ‘आँखा केन्द्रको भवन निर्माणको लागि आश्यक पुँजीगत खर्च तिलगंगा आँखा अस्पताल स्वयंले बेहोर्ने छ ।’

तिलगंगा आँखा अस्पताल उपकेन्द्रको नाममा च्यामासिंहको भक्तपुर जिल्ला सामुदायिक आँखा केन्द्रलाई चिनिन्छ । भक्तपुर जिल्ला सामुदायिक आँखा केन्द्रले बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ७ घण्टा निरन्तर आँखा उपचार सेवा दिँदै आएको छ । ७५ जनाले आँखा केन्द्रबाट दैनिक विशेषज्ञको सेवा लिने गरेका छन् ।

प्रतिक्रिया