ओझेलमा पर्यटकीय इच्छाकामना

चितवन । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचार–प्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ ।

जिल्लाको एक मात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रूपमा प्रशस्त पर्यटकीय स्थल छन् । यस गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली, इच्छाकामना र पाथीभरा मन्दिर, लामो झरना, त्रिशूली नदी, केबलकारको चेरेस, याक्राङटार, हात्तीवाङ, दाहाखानीजस्ता पर्यटकीय महत्वका स्थल छन् । सोही क्षेत्रमा चेपाङ, मगर, गुरुङलगायत आदिवासीको बाक्लो बसोवास छ ।

साविकको दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति मिलेर बनेको इच्छाकामना गाउँपालिकामा पाँच हजार बढी घरधुरी छन् । पछिल्लो जनगणनाअनुसार २५ हजार आठ जनसङ्ख्या छ । जसमध्ये नौ हजारभन्दा बढी चेपाङ समुदाय रहेका छन् ।

इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पर्यटकीय दृष्टिले उत्कृष्ट गाउँपालिका रहेको बताए । साठी वर्षअघि उपरदाङगढीबाट सदरमुकाम भरतपुर सरेको थियो । सो ठाउँमा ऐतिहासिक किल्ला रहेका छन्् । पृथ्वी राजमार्गको हुग्दीखोलाबाट तीन घण्टाको गाडीको यात्रापछि उपरदाङगढी पुग्न सकिन्छ ।

एक हजार ९ सय ४६ मिटर उचाइमा रहेको सिराइचुली सूर्याेदय र सूर्यास्त हेर्नका लागि अति नै उपयुक्त स्थान हो । चितवन जिल्लाको सम्पूर्ण भागका अतिरिक्त छिमेकी आठ जिल्लासमेत यहाँबाट अवलोकन गर्न सकिन्छ ।

इच्छाकामना र मनकामना दिदी बहिनीका रूपमा लिइन्छ । मनकामना जतिकै महत्व बोकेको इच्छाकामनाको महत्व बुझाउन नसक्दा ओझेलमा परेको छ । पाथीभरा मन्दिर शक्तिशाली देवीको मन्दिर हो । जुन उपरदाङगढी नजिकै छ । यहाँ दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरे नजिकै लामो झरना पर्दछ । गाउँपालिका प्रमुख गुरुङ यस क्षेत्रकै सबैभन्दा ठूलो झरना रहेको बताउँछन् । दैनिक ३ सयभन्दा बढी पर्यटक यहाँ अवलोकन गर्न आउने गरेको उनको भनाइ छ । जलक्रिडाका लागि त्रिशूली नदी महत्वपूर्ण मानिन्छ । धादिङको सीमा क्षेत्र मौवाखोलाबाट भरतपुर महानगरको सीमा क्षेत्र रिग्दीखोलासम्म इच्छाकामना गाउँपालिका पर्दछ । ३० किलोमिटरभन्दा लामो जलक्रिडाका लागि यस गाउँपालिका हुँदै बग्ने त्रिशूली नदी महत्वपूर्ण पर्यटकीयस्थल मानिन्छ ।

दैनिक हजारौँको संख्यामा केबलकार चढेर मनकामना जाने यसै गाउँपालिकाको कुरिनटारस्थित चेरेसबाट जाने गर्दछन्् । यससँगै सभ्य गुरुङ संस्कृति हेर्न याक्राङटार जान सकिन्छ । पुरानो र परम्परागत जनजातिको बसोवास रहेको हात्तीवाङ र दाहाखानीजस्ता पर्यटकीय महत्वका गाउँ पनि यहाँ रहेका छन् ।

चेपाङ समुदायको राम्रो बसोवास रहेको यस क्षेत्रमा उनीहरूको संस्कृति, रहनसहन र परम्परा जोकोहीका लागि नौलो मानिन्छ । सोही गाउँपालिकाका नेपाल कम्युनिस्ट पार्टीका नेता नारायण अधिकारीले उक्त क्षेत्रको हावापानी, नदीनाला, जनजाति बस्ती र उनीहरूको धर्मसंस्कृति जोकोहीका लागि नौलो र अनौठो हुने बताए । अधिकांश आदिवासीको बसोवास रहेको यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचार गर्नसकेमा जिल्लाकै नमुना पर्यटकीय गन्तव्य बन्ने अधिकारीको भनाइ छ ।

यही गाउँपालिका हुँदै पृथ्वी राजमार्ग पर्दछ । जहाँबाट दैनिक २० हजारभन्दा बढी सवारीसाधन आवत–जावत गर्दछन्् । सो क्षेत्रबाट प्रदेश सभाका लागि निर्वाचित सांसद घनश्याम दाहाल इच्छाकामना मन्दिरमा केबलकार जडान गर्न सकेमा मनकामना जतिकै महत्वपूर्ण बन्ने बताउँछन् । यस गाउँपालिकाका पर्यटकीय महत्व बोकेका ठाउँमा जिल्लाको सौराहा र पश्चिम चितवन आउने पर्यटकलाई लैजानु पर्ने उनले बताए ।

गाउँपालिकाले राम्रो गुरुयोजना बनाएर पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने पनि उनको सुझाव छ । दाहालसँगै प्रदेशसभामा निर्वाचन लडेर पराजित भएका नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ इच्छाकामना, सफारी पर्यटनपछिको पहिलो पर्यटकीय गन्तव्य भएको बताउँछन् । राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार नहुँदा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेर पनि ओझेलमा परेको उनको भनाइ छ ।

पर्यटकीय पूर्वाधारको विकास गरी इच्छाकामनाको पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्नुपर्ने सरोकारवाला बताउँछन्् । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार सहरी क्षेत्रमा रिभर साइड, डालिमा, सिद्धार्थजस्ता ठूला होटल छन्, भने ग्रामीण क्षेत्रमा बस्नका लागि होमस्टे छन् । बाह्रै महीना चिसो मौसम रहने हुँदा तराईको गर्मी र शीतलहर छल्न यो उपयुक्त ठाउँ रहेको छ ।

गाउँपालिकाले यहाँका पर्यटकीय गन्तव्यको वृत्तचित्र, पर्यटकीय गन्तव्यका बारेमा ब्रुसर, होमस्टेसम्बन्धी तालीम, टुरिष्ट गाइड सम्बन्धी तालिमसँगै पर्यटकीय पूर्वाधार निर्माण कार्य सुरु गरेको छ । गाउँपालिकाको अगुवाइमा पहिलोपटक इच्छाकामना महोत्सवसमेत हालै आयोजना गरिएको थियो ।

प्रतिक्रिया