चाडपर्वमा ३ सय ६० प्रहरी परिचालन

सल्यान । दसैँतिहारलाई लक्षित गरी सल्यानमा ३ सय ६० प्रहरी परिचालन हुने भएका छन् । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वको समयमा प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चाडपर्वको समयमा हुन सक्ने लुटपाट तथा ठगीका घटनाहरूलाई मध्यनजर राखी सार्वजनिक यातायातका साधनहरूमा आवश्यकता अनुसार सादा पोसाकमा तथा युनिफर्ममा हातहतियार सहितको प्रहरी परिचालन गरिने प्रहरीले बताएको छ ।

सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जिल्लामा मूख्य नाकाहरूमा २४सै घण्टा प्रहरी टोली तैनाथ गरी पिकेट डियुटी २४सै घण्टा सवारी साधन तथा यात्रुको चेकजाँच गरिने बताए ।

उनले बजारक्षेत्रमा पिकेट, मोबाइल गस्ती, गस्ती, पैदल गस्ती २४सै घन्टा परिचालन गरी सिसी क्यामेराबाट निगरानी गरिएको बताए । उनले ट्राफिक प्रहरीसहित प्रभावकारी चेकिङको व्यवस्था मिलाइने बताए ।

यस्तै दसैतिहारको निहुमा जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी, विष्फोटक तथा अवाञ्छित गतिविधिहरू हुनसक्ने स्थानको पहिचान गरी निगरानी गरिने उनले बताए ।

मुख्य व्यापारिक कारोबार हुने ठाउँ, बजार, बैंक तथा वित्तीय संस्था, पेट्रोल पम्पहरूमा आर्थिक कारोबारहरू वृद्धिहुने हुँदा उक्त क्षेत्रमा, गस्ति पेट्रोलिङ, सादा पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको, भिडभाड हुने क्षेत्र तथा टिकट काउन्टरहरूमा टिकटमा हुने ठगी, पाकेटमारी, नशालु पदार्थ सेवन गराई वा सुघाई लुटपाट हुनसक्ने घटनालाई मध्य नजर राखी त्यस्ता गतिविधी नियत्रणका लागि सादा पोसाकमा प्रहरी टोली खटाई सूचना संकलन गरी आवश्यकतानुसार प्रहरी परिचालन गरिनेछ उनले भने ।

उनले इलाका प्रहरी कार्यालय शीतलपाटी, जिल्ला ट्राफिक कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम, इलाका प्रहरी कार्यालय देवस्थल, इलाका प्रहरी कार्यालय थारमारे र प्रहरीचौकी कपुरकोटमा यात्रु सहायताकक्ष स्थापना गरिने बताए । यस्तै बजार अनुगमन तथा कालो बजारी नियन्त्रणका लागि आवश्यक कदम चालिने, सरसफाइलाई प्राथमिकता दिइने उनले बताए ।

प्रतिक्रिया