वृद्धभत्ता निजी खातामा हाल्ने सचिवविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साविक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले १८ लाख ३९ हजार ३ सय ५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनीविरुद्ध आव ०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपांग तथा बालपोषणको रकम झिकी हालसम्म पनि नबाँडेको र विकास निर्माणको रकमसमेत हिनामिना गरेको अभियोग लागेको छ ।

बैंकबाट सरकारी बजेट निकाली आफ्नो घर व्यवहारमा लगाई सरकारी रकम दुरुपयोग तथा हिनामिना गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

लाखौँ रकम झिकी ल्याउने तर वितरण पेस नगर्ने गरेको भन्दै अख्तियारमा उजुरी दायर भएपछि धितालमाथि अनुसन्धान भएको थियो ।आयोगको अनुसन्धानमा उनले रकम भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले नियन्त्रणमा लिएको थियो ।

धितालले सरकारी रकम दुरुपयोग तथा हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय र बिगो भराउन अख्तियारको आरोपपत्रमा माग गरिएको छ । धितालसँग बिगो र सजायका साथै मासेको बिगो १८ लाख ३९ हजार ३ सय ५२ रुपैयाँ असुल हुनुपर्ने माग गरिएको छ ।

यस्तै, आयोगले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीले ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा मलंगवा नगरपालिका–१० स्थित टावरचोकबाट पक्राउ गरेको छ । नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग हवल्दार अन्सारीले घुस माग्दामाग्दै आयोगको टोलीले पक्राउ गरेको थियो ।

आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लामा परिवार नियोजन सुपरभाइजर पदमा कार्यरत देवबहादुर सुवेदीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया