केसीको चित्र अमेरिकामा प्रथम

काठमाडौं । अमेरिका बसोवास गर्दै आएका कलाकार राजेन्द्र केसीले बनाएको स्थलगत दृश्यचित्रले प्रथम पुरस्कार जित्न सफल भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यको हार्डफोर्डमा स्थलगत चित्रकला प्रतियोगितामा केसीले प्रथम स्थान हासिल गरेका हुन् ।

‘पब्लिक च्वाइस’ अवार्ड पाइसकेको उनको उक्त चित्रलाई निर्णायकले समेत रुचाएका हुन् । प्रथम पुरस्कारसहित उनलाई नगद राशीले सम्मानित गरिएको केसीले बताए । यसअघि पनि उनले विभिन्न स्थलगत चित्रकला प्रतियोगितामा विभिन्न पुरस्कार जितेका छन् ।

१० वर्षदेखि अमेरिकामा बस्दै आएका केसी सन् १९९६ देखि नै कलाकारितामा लाग्दै आएका हुन् । उनी नेपालमै रहँदासमेत विभिन्न कलासम्बन्धी कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

विशेष गरी स्थलगत चित्रकलामा सक्रिय कलाकार केसी जलरङ माध्यममा चित्र बनाउन रुचाउँछन् । नेपाल छाडेपछि केही समय आफूलाई कलामा सक्रिय गराउन नसके पनि उनलाई कलाको हुटहुटीले छाड्न सकेन र हाल व्यवसायिक रूपमै कला क्षेत्रमा सक्रिय रहेको उनले बताए ।

ललितपुरको जावलाखेलमा जन्मिएका केसीले अमेरिकामै आफ्नो आर्ट स्टुडियो सञ्चालन गरेका छन् । आफ्नो स्टुडियोमा नेपालीका साथै विदेशीलाई प्रशिक्षण दिँदै आएको उनले जानकारी दिए । अमेरिका बसे पनि नेपाली संस्कृति र सौन्दर्यलाई निरन्तर चित्रमार्फत प्रचार–प्रसारमा लागेका केसी नेपाली कला र कलाकारका लागि केही गर्ने चाहना रहेको बताउँछन् ।

प्रतिक्रिया