शक्तिखोर अब संग्रहालय


काठमाडौं । तत्कालीन युद्धरत माओवादी लडाकुको मुख्यालय हो, शक्तिखोर । ०६२ मा शान्ति मिसनमा आएको संयुक्त राष्ट्रसंघीय टोली (अनमिन) ले लडाकुलाई वर्गीकरण गर्न यहीँ राखेको थियो । शान्ति प्रक्रियाका क्रममा शक्तिखोर निकै चर्चित बन्यो । शक्तिखोर जंगलले घेरिएको एक विशाल फाँट हो ।

तत्कालीन माओवादी लडाकु राख्न यहाँ धेरै रुख काटिए । लडाकुका लागि तीन हजारभन्दा बढी अस्थायी घर निर्माण भए । ०६३ सालमा शान्ति प्रक्रियाले पूर्णता पाएपछि भने शक्तिखोरको यो जमिन उपयोगविहीन छ । त्यतिवेलाका लडाकुहरू केही नेपाली सेनामा समायोजन भए, केही घर फर्किए ।

त्यसपछि शक्तिखोरलाई सेनाकै ब्यारेक बनाउने चर्चा पनि निकै चल्यो । हाल यहाँ सेनाको एक टुकडी अस्थायी रूपमा बस्दै आएको छ । तत्कालीन माओवादी लडाकुले प्रयोग गरेको सबै जमिन अहिले प्रयोगविहीन छ । सेना सानो स्थानमा बसेको छ । अब भने यो लडाकु शिविर क्षेत्र युद्ध संग्रहालय हुने भएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा निर्वाचित यहाँका जनप्रतिनिधिले शक्तिखोरलाई युद्ध संग्रहालय बनाउने घोषणा गरेका हुन् । यो क्षेत्र भरतपुरबाट करिब १५ किमी पूर्व पहाडको खोँचमा अवस्थित छ । भरतपुरबाट सोझै पक्की सडकबाट २० मिनेटमै शक्तिखोर पुगिन्छ ।

अहिले यो कालिका नगरपालिकामा पर्छ । सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेज लगायतलाई संकलन गरेर युद्ध संग्रहालय बनाउने गृहकार्य सुरु भएको छ । तत्कालीन माओवादी लडाकुको मुख्यालय रहेको शक्तिखोरमा युद्ध संग्रहालय निर्माणको पहल सुरु गरिएको हो ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले युद्ध संग्रहालयको काम अघि बढेको जानकारी दिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शक्तिखोरमा युद्ध संग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि काम सुरु गरिएको उनको भनाइ छ । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा संग्रहालय रहेको भन्दै शक्तिखोर महत्वपूर्ण स्थान रहेको बताए ।

पूर्वलडाकूहरू रहेको मुख्यालय क्षेत्रमा हाल नेपाली सेनाको सानो टुकडी छ । सेनालाई हटाई संग्रहालय बनाउन पहल भइरहेको नगरपालिकाले जनाएको छ । दुई वर्षपहिले सेना हटेर औद्योगिक क्षेत्र बन्ने चर्चा चलेको थियो । संग्रहालय बाहेकको अन्य क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउने योजना सरकारले अघि सारेको छ ।

केही महिनाअघि नेकपा अध्यक्ष दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध झल्काउने कला कुँदेर संग्रहालय बनाउने घोषणा गरेका थिए । यो नेपालकै पहिलो युद्ध संग्रहालय हुनेछ ।

संग्रहालय बनेपछि नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने यहाँका जानकारहरू बताउँछन् । यो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहानजिक पर्छ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको तत्कालीन माओवादी लडाकुले यही शक्तिखोर शिविरमा हत्या गरेको घटना अझै चर्चित छ ।

प्रतिक्रिया