दमक अस्पतालामा विरामीको चाप

झापा । दमकस्थित दमक अस्पतालमा रहेको सरकारी अस्पतालमा बिरामीको चाप बढेसँगै साँघुरो हुँदै गएको छ । ओपिडी सेवा दिने कोठाअगाडि राखिएको बेन्चमा १०÷१५ जना बिरामी पालो कुरेर बस्छन् । उनीहरू त्यहाँ बस्दा भित्र छिर्ने ठाउँसमेत बन्द हुन्छ ।

बाहिर बिरामी बस्ने स्थान मात्र होइन, ओपिडी सेवा लेखेको एउटा कोठालाई बारेर चार वटा कोठा बनाइएको छ । जहाँ एक जना बिरामी र डाक्टरबाहेक बस्न त के उभिन पनि मिल्ने ठाउँ छैन । बिरामी कोचिएरै उपचार सेवा लिन्छन् भने डाक्टरले पनि त्यसरी नै सेवा दिनुपर्ने बाध्यता छ ।

बिर्तामोड, काँकडभिट्टा र कन्काई क्षेत्रका स्थानीय मेची अञ्चल अस्पताल गए पनि बाँकी स्थानका बिरामी दमक अस्पताल नै पुग्ने गरेका छन् । जसका कारण यो अस्पतालमा बिरामीको चाप दैनिक उच्च हुने गरेको छ । सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेपछि बिरामीको संख्या दुई गुणाले बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जीवन सिवाकोटीले बताए ।

सानो भवनमा सञ्चालन भएको अस्पतालको सानो कोठाबाटै सबै सेवा दिनु र लिनुपर्दा जाडोभन्दा गर्मीका बेला डाक्टर र बिरामी दुवैलाई असहजता हुन्छ । ‘सानो भवन छ, सरकारी अस्पताल भएपछि बिरामीको चाप पनि ह्वात्तै बढ्यो’, निमित्त सुपरिन्टेन्डेन्ट डा. विपिनकुमार पाण्डेले भने, ‘सबै सेवा दिन खोज्दा पनि भवन र कोठा अभावले मुस्किल छ ।’

उनका अनुसार एउटा भवनको १२ वटा कोठाबाट ओपिडी, २४ घन्टे इमर्जेन्सी, इन्डोर वार्ड, एक्स–रे, भिडियो एक्स–रे, ल्याब (बिहान ७ देखि साँझ ७ बजेसम्म), सुत्केरी तथा गर्भवती जाँच, परिवार नियोजन, खोप, पोस्टमार्टम र इसिजीलगायत सेवा अस्पतालले सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

थोरै नागरिकका लागि वडा नम्बर १ मा स्थापना गरिएको स्वास्थ्यचौकीलाई नै दुई वर्षअघि ०७३ सालमा सरकारले १५ शय्याको अस्पतालमा रूपान्तरण गरेको थियो । यसलाई अस्पतालका रूपमा मान्यता दिइए पनि भौतिक पूर्वाधार र जनशक्ति अभावमा भनेजस्तो सेवा दिन नसकिएको पाण्डेले बताए ।

‘पहिले स्वास्थ्यचौकी भएको स्थानमा अस्पताल बन्यो । अस्पतालले दिने सेवा धेरै हुन्छन् । त्यसमा पनि जिल्लास्तरको सरकारी अस्पताल भनेपछि दमक मात्र नभई जिल्लाका विभिन्न स्थानबाट आउने बिरामीको चाप बढी हुन्छ’, उनले भने, ‘लथालिंग अवस्थामा सेवा दिनुपर्ने बाध्यता छ ।’

‘पहिले दैनिक ५०/६० जना उपचारका लागि आउने गरेका थिए’, अध्यक्ष शिवाकोटीले भने, ‘स्वास्थ्य बिमा लागू भएसँगै उपचारको प्रथम बिन्दु दमक तोक्ने बिरामीको संख्या बढी भएकाले दैनिक दुई सयभन्दा बढीको उपचार गर्नुपर्ने हुन्छ ।’ स्वास्थ्य बिमा गर्दा पायक पर्ने सरकारी अस्पताललाई पहिलो बिन्दु तोक्नुपर्छ ।

दमक नगरपालिकासहित गौरीगञ्ज, कमल र कन्काई नगरपालिकाका नागरिकले पनि पहिलो बिन्दु दमक अस्पताललाई तोकेकाले बिरामीको भिड लाग्ने गरेको छ । ‘अस्पतालमा भवन अनुसारको जनशक्ति ठिक्क मात्रामा छ’, शिवाकोटीले भने, ‘अब भवनसँगै केही डाक्टर थपे मात्र सहज रूपमा सेवा दिन सकिन्छ ।’

सरकारले समिति खारेज गरिसके पनि आधिकारिक पत्र नआएकाले अहिले पनि अस्पतालका समस्या समाधान गर्न लागिरहेको उनले सुनाए । हाल दमक अस्पतालमा सरकारले पठाएका २४, दमक नगरपालिकाले करारमा पठाएका ६ र व्यवस्थापन समितिले राखेका दुई गरी ३२ जना कर्मचारी छन् । चार जना डाक्टर रहेको जनाइएको छ ।

उनका अनुसार ओपिडी भएको भवन आम्दा अस्पतालले छाडेको पुरानो भवन हो । १९ कट्ठा जग्गा भए पनि रकम अभावमा अस्पतालले नयाँ भवन बनाउन सकेको छैन । नयाँ भवन बनाउन २४ कट्ठा जमिन आवश्यक पर्ने सुझाव प्राविधिकले दिएको जनाइएको छ ।

प्रतिक्रिया