चिकित्सा शिक्षा विधेयकमा कांग्रेसको चासो

काठमाडौं । प्रतिनिधिसभा बैठकको बर्खे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पेस नगरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आपत्ति जनाएको छ । अधिवेशनको अन्तिम दिन कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले चिकित्सा शिक्षा विधेयक नआएको भन्दै सरकारको जवाफ मागे । उनले संसद्मा विधेयक नआउनुको जिम्मेवारी नेपाली कांग्रेसले नलिनेसमेत स्पष्ट पारे ।

विशेष समयमा बोल्दै उपनेता गच्छदारले यसअघि छलफल नगरी विधेयक रोकेको भन्दै सरकारले जवाफ दिनुपर्ने माग गरेका थिए । ‘नागरिकहरूले चिकित्सा शिक्षा विधेयक किन आएन भनेर प्रश्न सोधिरहेका छन्, धेरैपटक बैठक बस्दा पनि हामीले प्रस्ताव गर्दा किन मानिएन ? यसप्रति असहमत भएकाले सर्मथन गर्न सक्दैनाँै ।’

बैठकमा विधेयक नआउनुको प्रमुख कारण सरकार भएको भन्दै गच्छादारले भने, ‘डा. गोविन्द केसी अनशन बस्नुभयो भने त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुनुपर्दछ ।’ यता, केसीले पनि १६औँ पटक अनशन बस्ने चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षामा सुधार माग राखेर १५ पटकसम्म अनशन बसेका केसी सरकारले विगतमा आफूसँग गरेका सहमति तोडेको भन्दै अनशन बस्ने चेतावनी दिएका हुन् । यसबारेमा सरकारले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया