राष्ट्रिय सभाबाट २८ विधेयक पारित

काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशनको अन्त्य भएको छ । अधिवेशनभर राष्ट्रिय सभाको बैठक ५२ दिन चल्यो । ५२ दिनमा राष्ट्रिय सभाका ६१ बैठक बस्दा जम्मा ७९ घण्टा २० मिनेट संसदीय कामकारबाहीमा बित्यो भने संसद्को संयुक्त सदनको चारपटक बैठक बस्दा ६ घण्टा ५० मिनेट समय बित्यो । त्यसबीचमा राष्ट्रिय सभाबाट २८ वटा ऐन पारित भए ।

तीमध्ये, पाँच वटा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । प्रमाणीकृत विधेयकमा वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५, बालबालिकासम्बन्धी विधेयक २०७५ र अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ छन् ।

यसैगरी, राष्ट्रिय सभाबाट चार वटा विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन् । जसमा, मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५, प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ छन् ।

यस्तै, १९ वटा प्रतिनिधिसभाबाट आएका विधेयक राष्ट्रिय सभाले पारित गरेको छ । यसरी पारित गरिएका विधेयकमा विनियोजन विधेयक २०७५, आर्थिक विधेयक २०७५, राष्ट्र ऋण उठाउने विधेयक, २०७५, ऋण तथा जमानत (२२औँ संशोधन) विधेयक २०७५, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक २०७५, जनस्वास्थ्य विधेयक २०७५ छन् ।

यसैगरी, रोजगारीको हकसम्बन्धी विधेयक २०७५, उपभोक्ता संरक्षण विधेयक २०७५, खाद्य–अधिकारसम्बन्धी विधेयक २०७५, आवासको अधिकारसम्बन्धी विधेयक २०७५ र भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५, वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५ र सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५ छन् । यसैगरी, बैठकले पाँच वटा अन्तर्राष्ट्रिय सन्धिसम्झौतालाई अनुमोदन तथा स्वीकृत गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धि, अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि, जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन गर्ने, पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता २०१७ र शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत गरेको छ ।

प्रतिक्रिया