दुई गाउँलेबीच झडप

रौतहट । शव जलाउने विषयमा विवाद भएपछि दुई गाउँलेबीच झडप भएको छ । झडपमा प्रहरीसहित सर्वसाधरण घाइते भएका छन् । गरुडा नगरपालिका–९ श्रीपुर र गमहरिया गाउँका स्थानीयबीच बुधबार झडप भएको हो । गरुडा–९ का ६५ वर्षीय रामपृत शहनीको शव जलाउन खोज्दा दुुई समुहबीच झडप भएको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । दिनभरको झडपमा ५ प्रहरीसहित १७ जना बढी स्थानीय घाइते भएका छन् ।

झडपले उग्र रूप लिएपछि वरपर बस्तीका बासिन्दा आतंकित बनेका थिए । झडपबाट पाँच प्रहरीसमेत घाइते भएका छन् । घाइते हुनेमा हवलदार सञ्जयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साह, विश्वनाथ साह छन् । उनीहरूको टाउको र जिउमा चोट लागेकोले उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

झडपमा घाइते भएका छविलाल सहनी, रमेश सहनी, सुरेन्द सहनी, सुनील सहनी, शम्भु सहनी लगायतको गरुडाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३२ राउन्ड हवाईफायर र २३ राउन्ड अश्रुुग्यास प्रहार गरेको थियो । गाउँ छेउमा रहेको चाँदी खोलामा पहिलादेखि नै शव जलाउने गरेका स्थानीयलाई अर्को समूहले सो स्थानमा शव नजलाउन भनेपछि झडप भएको थियो ।

प्रहरी हस्तक्षेपपछि अहिले अवस्था सामान्य छ । घटना गराउनमा संलग्न रहेको आशंकामा स्थानीय रामप्रवेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक साताअघि पनि यहाँ यही विषयमा झडप भएको थियो । शव जलाउने विषयमा साताअघिकै विवादपछि जनप्रतिनिधि, प्रहरी र स्थानियवासीबीच छलफल भएर शव सोही स्थानमा नजलाउने सहमति भएको थियो ।

असोज ३ गते त्यस स्थानमा शव नजलाउने सहमति भएको भए पनि बुधबार शव जलाउन ल्याएकाले विवाद भएको एसपी ढकालले बताए । एकपक्षले परापूर्वकालदेखि नै उक्त स्थानमा शव जलाउँदै आएकाले अहिले त्यही विषय चर्केको उनको भनाइ छ । अर्को पक्षले उक्त स्थान गाउँको बीचमा पर्ने र बाटो नजिकै भएकाले अन्यत्र जलाउनुपर्ने भन्दै आएका थिए ।

केही दिनअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै अर्को पक्षले प्रहरीलाई सूचना दिएको थियो । घटनास्थलमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो । प्रहरीले घटना नियन्त्रणमा लिनका लागि बारास्थित निजगढ प्रहरी कार्यालयबाट थप मद्धत मागेको थियो ।

प्रतिक्रिया