प्रदेश–७ को नाममा विवाद


काठमाडौं । स्थायी राजधानीको विषयमा बुधबारको प्रदेशसभा–७ को बैठकमा विवाद चर्किएको छ । मंगलबार संसद्मा पेस भएको प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी प्रतिवेदन माथिको छलफलमा भाग लिने सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच जुहारी नै चलेको छ ।

प्रदेशको नामाकरण र स्थायी राजधानी निर्धारण गर्न विशेष सुझाब समितिले स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने प्रतिवेदन प्रदेश सभामा पेस गरेपछि सांसदबीच चर्काचर्की भएको हो ।

प्रमुख प्रतिपक्ष कांग्रेस र राजपाका सांसदले कुनै एक नेताको निहित स्वार्थमा गोदावरी राजधानी प्रस्ताव गरिएको भन्दै उनीहरूले गोदावरी राजधानी उपयुक्त नभएको बताए । बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले बहुमतीय दम्भका आधारमा समितिले प्रतिवेदन ल्याएको बताए ।

उनले भने, ‘प्रदेश–७ का सबै जिल्लाको पायक पर्ने ठाउँका हिसाबमा हो भने डोटीको दिपायल उपयुक्त हो, कम खर्च र अन्य सुविधाका हिसाबले धनगढी उपयुक्त हो, तर गोदावरी कुनै पनि हिसाबले उपयुक्त छैन ।’

राजधानी बनाउने भनिएको गोदावरीको उक्त क्षेत्रमा जंगल रहेकाले जंगल विनाश गरी राजधानी बनाउन नमिल्ने रावललगायत प्रतिपक्षका सांसदको भनाइ छ । अर्को प्रतिपक्ष दल राजपाका सांसद कृष्ण चौधरीले पनि गोदावरी राजधानी आफ्नो दललाई मान्य नभएको बताए । उनले भने, ‘जंगल मासेर राजधानी बनाउने यो कस्तो संघीयता हो, कुनै नेताको स्वार्थपूर्तिका लागि जनताको भावनाविपरीत राजधानी बनाउन पाइन्न ।’

यता, सत्ता पक्षका सांसदले भने समितिको प्रतिवेदनको बचाउ गर्दै गोदावरी राजधानी उपयुक्त भएको बताए । यसअघि, डोटीको दिपायलमा राजधानीको माग गर्ने सत्ता पक्षका सांसदले पनि बुधबारको प्रदेशसभा बैठकमा भने गोदावरी राजधानी उपयुक्त भएको तर्क गरे । बुधबारको प्रदेशसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्ष गरी २२ जना सांसदले आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रदेश–७ को प्रदेश सभामा ५३ जना सांसद रहेका छन् । जसमा प्रतिपक्षमा कांग्रेसका १२ र राजपाका २ गरी १४ सांसद छन् । सत्ता पक्षको दुईतिहाइ संख्या रहेकाले सांसदमा पेस भएको राजधानी र नामाकरणको प्रस्ताव पास हुन सहज नै रहेको छ । हाल अस्थायी राजधानी रहेको धनगढीका वासिन्दाले बुधबार संसद् चलिरहेका वेला प्रदेशसभा भवन घेराउ गरेका थिए ।

उनीहरूले धनगढीबाट राजधानी अन्यत्र सार्न नपाइने भन्दै विरोध जनाएका छन् । राजधानी गोदावरी बनाउने प्रस्तावका विरोधमा धनगढीवासीले बिहीबार आमहडतालको घोषणा गरेका छन् । नामाकरणका विषयलाई लिएर सुदूरपश्चिम फेरि आन्दोलित हुन पुगेको छ ।

प्रतिक्रिया