सिटामोलका भरमा स्वास्थ्य केन्द्र

रौतहट । जिल्लाका अधिकांश स्वास्थ्य केन्द्रहरू सिटामोलका भरमा चलेका छन् । यहाँका अधिकांश स्वास्थ्य चौकीमा औषधिको अभाव रहेको छ । औषधि अभाव हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

देश संघीयतामा गएपछि स्वास्थ्य केन्द्रहरू स्थानीय तहले हेर्ने प्रावधान रहेको छ । स्वास्थ्यकर्मीहरू पनि कार्यालय समयभरी स्वास्थ्य केन्द्रहरूमा बस्ने गरेका छैनन् । औषधि अभाव र स्वास्थ्यकर्मीहरूको लापरबाहीका कारण रौतहटमा सेवाग्रहीहरू मर्कामा पर्दै आएका छन् । स्वास्थ्य केन्द्रमा जाँदा औषधि नभएको भन्दै फर्काउने गरेको बिरामीका आफन्तहरूले गुनासो गरेका छन् ।

सदरमुकाम गौरलगायत अन्य स्वास्थ्यचौकीहरूमा प्राथमिक स्वास्थ्य सेवा पाउनसमेत मुस्किल छ । बिरामीहरू राम्रो स्वास्थ्य उपचारका लागि सीमावर्ती भारतीय सहर या वीरगञ्ज, चितवन एवं काठमाडौं जान बाध्य भएका छन् ।

अहिले बिरामी बढी खर्च गरेर निजी अस्पतालहरूमा उपचार गराउन बाध्य भएका छन् । नेपाल सरकारको अर्बौं लगानी भएको जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था अत्यन्त दयनीय छ ।

स्वास्थ्यचौकीमा कर्मचारीको कुनै समयतालिका नै नभएकाले यस भेगका स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको गुजरा नगरपालिकाकी स्थानीय लीलादेवी साहले बताइन् । स्वास्थ्य केन्द्रमा उपचार गराउन जाँदा चेकजाँच नै नगरी प्राइभेट अस्पतालमा जान र औषधि किन्न सल्लाह दिएर पठाउने गरेको साहलगायत त्यहाँका स्थानीयहरूले बताए ।

दुई वर्षीय छोरीलाई झाडापखाला लागेर उपचार गराउन गएका गुजरा नगरपालिकाका स्थानीय लक्ष्मीदेवी साहले सिम्रा भवानीपुर स्वास्थ्य चौकीमा औषधि माग्दा सिनियर अहेब शिवजी साहले सिटामोल दिएर पठाएको बताइन् । ‘अन्त्यै जँचाउन भनेर पठाउँछन् । खान त मुस्किल भएका हामी कहाँ अन्त जानु’ उनले दुःखेसो पोखिन् ।

जिल्लाका सबै स्वास्थ्यचौकी र अस्पतालहरूको अवस्था भद्रगोल रहेको रौतहट–४ का प्रतिनिधिसभा स्दस्य देवप्रसाद तिमल्सिनाले बताए । अस्पतालमा जाँदा न औषधि हुन्छ न डाक्टर, अस्पतालमा भएका सबै औषधिहरू लगेर बाहिर बेच्ने गरेका कारण यस्तो समस्या आएको उनको भनाइ छ । जिल्लाका कुनै अस्पतालमा औषधि छैन, नेताहरूले रोडमा भाषण मात्र गरेर सरकारी सुविधा लिएर बसेको उनले आरोप लगाए ।

स्वास्थ्य केन्द्रका धेरै कर्मचारीहरू स्थानीय भएकाले स्थानीयस्तरका मेयर, वडाध्यक्षका नातागोता र आफन्तहरू रहने भएकाले मनपरी गर्ने गरेको र सेवाग्राहीहरूले भरपर्दाे स्वास्थ सेवा पाउनबाट वञ्चित भएको उनको भनाइ छ ।

अस्पतालमा डाक्टरहरू कम भएकाले आएका बिरामीहरूलाई हेर्न नसकेका कारण यहाँका बिरामीहरू प्राइभेट अस्पतालमा जाने गरेको चन्द्रनिगाहपुर अस्पतालका डा. काजल प्रकाशले बताइन् । सरकारी अस्पतालभन्दा प्राइभेट अस्पतालमा राम्रो उपचार र सुविधा हुनु स्वाभाविक भएको डा. प्रकाशले स्वीकार गरिन् ।

हामीसँग क्षमता भए पनि उपचार गराउन आएका बिरामीहरूलाई स्रोत र साधनका कमीले फर्काउने गरेका चन्द्रपुर–९ डुमरिया स्वास्थ्य चौकीका स्टाफ नर्स सुधा कोइरालाले बताइन् । हामीले माथिल्लो निकायसँग पटक–पटक उपकरण र औषधिहरू माग गर्दा पनि कुनै वास्ता नगरेको कोइरालाले बताइन् ।

जिल्लाका अधिकांश स्वास्थ्य केन्द्रहरू औषधिविहीन हुँदा पनि सम्बन्धित निकायले हेर्न सकेको छैन । जिल्लामा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी गरी करिब सयको संख्यामा रहेका छन् । स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका आस्थायी साधन, टिबी, कुष्ठरोग, बालबालिकालाई लगाइने खोपहरूको समेत अभाव देखिँदासमेत तीनै तहका सरकारको ध्यान जान सकेको छैन ।

प्रतिक्रिया