विद्यालय हातामै तरकारी

जनकल्याण माविकोे ७० रोपनी जग्गामा विद्यार्थीले गरेको तरकारी उत्पादनबाट वार्षिक साढे ४ लाख आम्दानी गर्दैै विद्यालय, सोही आम्दानीबाट १२ शिक्षकलाई तलब

सल्यान । जिल्लाको वागचौर नगरपालिका–२ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयमा अहिले विद्यार्थीभन्दा अभिभावकको भिड हुने गरेको छ । उनीहरू विद्यार्थी वा अभिभावकको रूपमा नभई ग्राहकका रूपमा विद्यालयमा आउने गरेका हुन्।

कारण हो, विद्यालयले दैनिक तरकारी बेच्नु । विद्यालय हाताभित्र रहेको ७० रोपनी खाली जग्गामा विद्यालयले तरकारी खेती गरेर बेच्न थालेको हो । जनकल्याण माविमा अध्ययनरत विद्यार्थीले विद्यालय हाताभित्र रहेको जग्गामा गरेको तरकारी खेती हेर्न र तरकारी किन्न आउनेहरूको दैनिकजसो भिड लाग्ने गरेको छ ।

विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषि विषय पढ्ने विद्यार्थीले प्रयोगका रूपमा गरेको कृषि उत्पादनको जिल्लाभरि नै नमुनाका रूपमा चर्चा भएको छ । विद्यालयमा गएर आर्जन गरिने सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीपमा विकास गर्न ७० रोपनी जग्गामा तरकारी खेती गर्दै आएको विद्यालयले जनाएको छ।

विद्यालय क्षेत्रभित्र अहिले मौसमअनुसारका विभिन्न तरकारीहरू उत्पादन गरिरहेको विद्यालयमा अध्ययनरत विद्यार्थी प्रेम डिसीले बताए । आइएससी एजीमा अध्ययनरत विद्यार्थी डिसीले आफूले उत्पादन गरेको तरकारी किन्न आउनेको भिड लागेको देख्दा आफूलाई खुसी लागेको बताउँदै पढेका कुराहरू व्यावहारिक रूपमा प्रयोग गर्न पाउँदा विश्वास जागेको बताए ।

अहिले टमाटर, काउली, बन्दा, सिमी, खुर्सानी, करेला, लौका, काँक्रा लगायतका तरकारी खेती हुँदै आएको छ । विद्यालयमा उत्पादन भएको तरकारी थारमारे, वागचौर बजार र आसपासका स्थानीयहरूसमेत आएर किनेर लैजाने गरेको विद्यालयका प्रधानध्यापक पूर्णबहादुर भण्डारीले बताए ।

‘विद्यालयमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञान सिकाउन पाउँदा आफूलाई जति खुसी लागेको छ । त्यति नै विद्यार्थीहरू पनि उत्साहित भएका छन्,’ उनले भने । विद्यार्थीले व्यावहारिक ज्ञान आर्जनका लागि गरेको व्यावसायिक तरकारी खेतीबाट विद्यालयको आम्दानीको स्रोत बढेको उनले बताए ।

बजारमा आएको तरकारीभन्दा विद्यालयमा उत्पादन हुने तरकारी ताजा र बजार भाउभन्दा सुपथ मूल्यमा पाएपछि स्थानीय अभिभावक पनि दैनिक तरकारी किन्न विद्यालयमै जाने गरेका छन् । ‘यहाँ पाइने तरकारी बजारभन्दा सस्तो र ताजा हुन्छ, त्यसैले हामी यहीँबाट तरकारी खरिद गछौँ,’ स्थानीय सीता डिसीले बताइन् ।

कुखुरा र माछासँगै मह पनि पाइने
विद्यालयमा अध्ययनरत विद्यार्थीले तरकारी उत्पादनसँगै विद्यालय हाताभित्रै कुखुरा र माछासँगै मौरीपालनसमेत गरेका छन् । विद्यार्थीलाई प्रदर्शनीमार्फत पनि व्यावहारिक सीपको विकासका लागि विद्यालयले मौसमी तथा बेमौसमी तरकारी, फलफूल खेती, मौरी, कुखुरापालनसमेत गर्दै आएको जनाएको छ ।

विद्यालयमा उत्पादन हुने कृषिजन्य सामग्रीको बिक्रीबाट वार्षिक साढे चार लाख बढी आम्दानी हुने गरेको प्रअ भण्डारीले बताए । विद्यालयले विद्यार्थीलाई तरकारी खेतीमा सहयोग गर्ने गरी एक जना ज्यालादारी कर्मचारीको व्यवस्था गरेको जनाएको छ ।

थारमारेमा बजार व्यवस्था
जनकल्याण माविले आफ्नो नाममा रहेको जग्गामा बजारसमेत स्थापना गरेको छ । थारमारेमा रहेको जग्गामा फरक–फरक किसिमको व्यापार व्यवसाय सञ्चालन गर्ने गरी ४१ वटा साना र ठूला स्टलहरू सञ्चालन गर्न अनुमति दिएको छ ।

स्टलहरूमा व्यापारीले फरक–फरक प्रकृतिका सामग्री राखेर भाडामा व्यापार सञ्चालन गर्दै आएका छन् । एक दशकपहिले सुनसान रहेको थारमारेमा विद्यालयले नै बजार स्थापना गरेको थियो ।

विद्यालयले भाडामा दिएको जग्गाबाट मात्र झन्डै ६ लाख बढी आम्दानी गर्दै आएको छ । तरकारी खेती तथा भाडाबाट उठेको रकम यहाँ कार्यरत १२ जना शिक्षकको पारिश्रमिक लगायतमा खर्च हुने गरेको प्रअले बताए ।

प्रतिक्रिया