जिल्ला अस्पतालको बेथिति

संखुवासभा । बिहीबार खाँदबारी नगरपालिका–८ की मेनुका कटुवाल लडेर घाइते भएपश्चात् जिल्ला अस्पताल खाँदबारी आइन् । धेरै सिकिस्त अवस्थामा रहेकी कटुवाल अस्पताल आइपुग्दा विद्युत् थिएन, तर उनमा आशा थियो जिल्ला अस्पतालमा जेनेरेटर चलाएर पनि एक्सरे हुन्छ ।

तर, त्यहाँ आइपुग्दा अस्पतालका कर्मचारीले न त जेनेरेटर चलाए न त कर्मचारीले राम्रो प्रतिक्रिया नै दिए । अझ अस्पतालका कर्मचारीले सामान्य प्राथमिक उपचारसमेत गरेनन् । बिरामीसँगै अस्पताल आइपुगेकी बबिता कटुवालले पटकपटक जेनेरेटर चलाउन आग्रह गरिन् ।

तर, उनको आग्रहलाई अस्पतालले सहजै अस्वीकार गर्यो । कटुवालले अस्पताल विकास समितिका अध्यक्ष सरोज बज्राचार्य, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडालाई फोनसमेत गरिन्  ।

तर उनले सोचेजस्तो प्रतिक्रिया भने पाइनन् । अझ जेनेरेटर चलाएर बिरामीको उपचार गर्न कटुवालले आग्रह गर्दा कर्मचारी कर्मचारीबीच नै आरोपप्रत्यारोपमा उत्रिए ।  कोही बिदामा बसेको, कोही जेनेरेटर चलाउन नजान्ने त कोही जान्ने भएर पनि जेनेरेटर चलाएपछि अस्पतालका सामग्री बिग्रन्छ भन्दै नचलाई बसेका थिए । कर्मचारी भन्दै थिए जेनेरेटर चलाएपछि एक्सरे मेसिन बिग्रन्छ, बल्बहरू सबै फुट्छन् ।

अस्पतालको ज्यान मार्ने नियत
जिल्लामा रातभरी वर्षा भएका कारण विद्युत् अवरुद्ध भएको थियो । अस्पतालमा बिरामी ल्याइपुर्याएर उपचार नपाएर छटपटिरहेको अवस्था छ । तर, अस्पतालका कर्मचारीलाई वास्ता छैन । अझ बिरामी सिकिस्त अवस्थामा छ, सामग्री पनि पर्याप्त नै छ तर उनीहरू आग्रह गर्छन् कि विद्युत् आपूर्ति हुँदासम्म पर्खनु ।

यता विद्युत् आपुर्ति हुने छाँटकाँट भने छैन । विद्युत् आपूर्ति हुने छाँटकाँट नहुँदा र सिकिस्त बिरामीको ज्यानसमेत जाने खतरा छ, यसतर्फ भने कर्मचारी वास्ता पनि गर्दैनन् । विद्युत् आउँदासम्म बिरामीको ज्यान गए जिम्मेवार को हुन्छ ?

सरकारी अस्पतालमा पर्याप्त सामग्री हुँदाहुँदै पनि सामग्री प्रयोग नगरेर किन बिरामीलाई अकालमा मार्न खोजिन्छ ? बिरामीलाई अस्पताल लिएर पुगेकी बबिता कटुवाल भन्दै थिइन्, ‘भएका सामग्री प्रयोग नगर्नु अस्पतालको ज्यान मार्ने नियत हो ।’

कर्मचारी कर्मचारीबीच नै मनमुटाव
जिल्ला अस्पतालमा कर्मचारी कर्मचारीबीचमा नै मनमुटाव हुनु नौलो कुरा भने होइन । पटकपटक यस्ता घटना भएका छन् । कतिपटक त अस्पताल परिसरभित्रै कुटाकुटसमेत भएका छन् । स्थानीय कर्मचारीको बाहुल्यता भएको खाँदबारी अस्पताल विभिन्न कारणले वेलावेलामा चर्चामा आउने गरेको छ ।

स्थानीय कर्मचारीले आफूले भनेअनुसार निर्णय नगरिए कार्यालय प्रमुखलाई दुव्र्यवहारसमेत गर्ने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको आदेशबमोजिम यहाँ बिरामीको सेवा उपचारमा आउने चिकित्सक तथा मेडिकल सुपरिटेन्डेनले समेत स्थानीय कर्मचारीको कुटाइसमेत खानुपरेको छ ।

संखुवासभा जिल्ला बाहिरबाट आएका डाक्टरहरूले स्थानीय कर्मचारीहरूको मागअनुसार आर्थिक लाभ नपुर्याइदिँदा सरुवा भएर जानुपरेको छ । कर्मचारीहरूलाई राजनीतिक संरक्षण प्राप्त भएकाले सिअनमी फूलमाया तामाङसँग विवाद गरेको निहुँमा मेसु डा. विनित झा कार्यकाल पूरा नगरिकन सरुवा मागेर काठमाडौं गएका छन् ।

खाँदवारी अस्पतालमा डा. विनित झा मात्र विवादमा परेका होइनन्, यसअघि डा. विष्णुबहादुर बस्नेत, डा. दयाशंकर लालकर्ण लगायतका चिकित्सकहरू आर्थिक लाभकै विवादको चपेटामा परेर कार्यकाल पूरा नहुँदै सरुवा भएर गएका थिए ।

अर्कोतर्फ कर्मचारीबीचको विवाद प्रमुख पक्ष भनिएका स्थानीय कर्मचारीलाई मन्त्रालय वा विभागले विवाद मेट्न अन्यत्र सरुवा गरिदिए पनि केही हप्ता नबित्दै राजनीतिक शक्ति प्रयोग गरेर यही अस्पतालमा फर्केका उदाहरण प्रशस्त छन् । यसरी पटकपटक कर्मचारी कर्मचारी बीचमा मनमुटाव हुँदा सेवाग्राही भने मर्कामा परेका छन् ।

अस्पताल व्यवस्थापन समिति बेखबर
जिल्ला अस्पतालमा जतिसुकै मनमुटाव र बिरामी सास्तीमा परे पनि अस्पताल व्यवस्थापन समिति भने बेखबर छ । स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदा पनि अस्पताल व्यवस्थापन समितिले कुनै वास्ता गरेको छैन । कुनै समस्या आएपश्चात् अस्पतालमा स्थानीयले ताला लगाएपछि मात्रै व्यवस्थापन समिति केही दिन सक्रिय हुने गरेको छ ।

विवाद समाधान भएपश्चात् भने पुरानै अवस्थामा फर्किने गरेको छ । अस्पतालका कर्मचारीका अनुसार व्यवस्थापन समितिले स्टोरमा राखेका सामानसमेत नदिने गरेका छन् । कर्मचारी भन्छन्, ‘कुनै सामग्री सकियो भनेर जानकारी गराउँदा, स्टोरमा छ भन्नुहुन्छ तर हामीलाई दिनुहुन्न हामीले कसरी गर्ने बिरामीको सेवा ।’

सञ्चालनमै विवाद
खाँदबारी अस्पताल अहिले कसले सञ्चालन वा व्यवस्थापन गर्ने भन्ने कुरामै अल्झिएको छ । अस्पताल स्थानीय तहले सञ्चालन गर्ने हो वा प्रदेश सरकारले भन्ने नीतिगत निर्णय भई नसक्नाका कारण अहिले खाँदबारी अस्पतालका सबैखाले सेवा अस्तव्यस्त हुन पुगेका छन् ।

अस्पतालका लागि भौतिक पूर्वाधार व्यवस्था गर्ने जिम्मेवारी पाएको सरकारको भवन व्यवस्था विभाग मातहतको धनकुटास्थित भवन कार्यालयले लामो समय बितिसक्दा समेत भौतिक पूर्वाधार व्यवस्थाका लागि खासै चासो लिएको देखिँदैन । अस्पतालभित्र कर्मचारीहरूबीच विवाद चुलिएर आपसमा हातपात गर्ने सम्मको अवस्थामा पुगेपछि अस्पताल विकास समितिका अध्यक्ष गोपाल घिमिरेले विवाद समाधानको कुनै पहल नगरको स्थानीयको आरोप छ ।

विवाद समाधान गर्नुको सट्टा उनी अमेरिका पलायन भएकाले विगत केही वर्षदेखि नै अस्पताल नेतृत्वविहीन रूपमा चल्दै आएको छ । हाल कार्यवहाक अध्यक्षको रूपमा सरोजकुमार बज्राचार्यले जिम्मेवारी लिँदै आएका छन् ।

घट्दै बिरामीको संख्या
कुनै समयमा बहिरंग सेवामा मात्रै दिनको १ सय ५० जनासम्म बिरामी आउने यस अस्पतालमा हिजोआज नगण्य मात्रामा बिरामी आउने गरेको अस्पतालको बिरामी दर्ता रजिस्टरबाटै थाहा पाउन सकिन्छ ।

जिल्ला अस्पताल खाँदबारीमा अन्तरंग सेवा लिन आउने अन्य रोगका भन्दा सुत्केरी गराउन आउने बिरामी संख्या अत्यधिक रहेको पाइन्छ । यसले गर्दा एकातिर बिरामीको परिवारलाई खर्चको बोझले थिच्ने गरेको छ भने अर्कोतिर जिल्लाको आर्थिक स्रोत बाहिरिन गएको छ ।

संखुवासभा जिल्लाका जनताका साथै छिमेकी जिल्ला भोजपुरको उत्तर–पूर्वी भेगका जनता, धनकुटाको उत्तरी भेगका जनता, विभिन्न क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारी तथा विभिन्न कामको सिलसिलामा जिल्लामा आइपुगेका विदेशी नागरिकहरू एवं पर्यटकहरूलाई समेत ०३३ सालदेखि सञ्चालनमा आएको खाँदवारी अस्पतालले चिकित्सा सेवा पुर्याउने जिम्मेवारी बोकेको छ । तर, बिरामी निको पार्ने अस्पताल हाल आफैँ थलिएको छ ।

प्रतिक्रिया