अरुण उपत्यकामा आयुर्वेद विश्वविद्यालयको माग

संखुवासभा । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने योगमाया न्यौपानेको नाममा योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा स्थापना गर्न संखुवासभा र भोजपुरका सरोकारवालाले माग गरेका छन् ।

संखुवासभा सदरमुकाम खाँदबारीमा भएको एक छलफल कार्यक्रममा वक्ताहरूले अरुण उपत्यकामा जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह गर्ने र अरुण उपत्यकामा नै आफ्ना भक्तहरूका साथ अरुण नदीमा सामूहिक जलसमाधि लिएकी योगमायाको नाममा खुल्ने विश्वविद्यालय अरुण उपत्यकामा नै स्थापित हुनुपर्ने विचार व्यक्त गरे ।

उनीहरूले अरुण उपत्यकाका जिल्लाहरू भोजपुर र संखुवासभामा जडीबुटी प्रशस्त पाइने, हाल यातायातको सुविधा, विमानस्थल तथा सडक यातायातको सुविधा हुनाका साथै मध्यपहाडी राजमार्गबाट समेत जोडिएको हुनाले पनि विश्वविद्यालय यो क्षेत्रमा नै विश्वविद्यालय स्थापना हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

योगमायालाई नेपालको पहिलो समाज सुधारक महिलाको रूपमा चिनिन्छ । भोजपुर जिल्लाको साबिक नेपालेडाँडा गाविस, हालको षडानन्द नगरपालिका–१ मा जन्मिएकी योगमाया न्यौपाने वास्तवमै नेपालको मात्र नभएर विश्वभरिका महिलाहरूको प्रेरणाको स्रोत भएको भन्दै वक्ताहरूले योगमायाको चर्चा गरेका थिए ।

यसका साथै, उनले आफ्ना अनुयायीहरूलाई आफूले भनेको कामका लागि जीवनको आहुती दिन पनि तयार बनाएको सत्य घटना हामीले थाहा पाएको र यसको बारेमा धेरै चर्चापरिचर्चा हुने गरेकाले पनि अन्यत्र ठाउँमा विश्वविद्यालयको लागि पहल भइरहेकोमा आपूmहरूलाई स्वीकार्य नभएको भेलाका वक्ताहरूले बताएका छन् ।

योगमायाले आफूसँगै १९६८ सालमा षडानन्द नगरपालिका–१ को मझुवाबेँसीबाट ६८ जना अनुयायीलाई सँगै लिएर जलसमाधि लिएको चर्चा गर्दै वक्ताहरूले यही क्षेत्रमा उनको सम्मान गर्नका लागि पनि विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए ।

नेपालको पहिलो समाज सुधारकका रूपमा चिनिएकी योगमाया न्यौपानेको अहिले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक क्षेत्रमा चर्चा भइरहेको छ । यसका साथै योगमायाको नाममा प्रतिष्ठान तथा विभिन्न शक्तिपीठहरू स्थापना हुनुका साथै उनको सम्मानका लागि योगमायाको नाममा नेपाल सरकारले हुलाक टिकटसमेत जारी गरेको छ ।

योगमाया एक समाज सुधारक मात्र नभएर शिक्षाको लागिसमेत प्रेरणाको खानी हुन् । उनले महिलाअधिकार तथा महिला शिक्षाको बारेमा आवाज उठाउँदा उनलाई तत्कालीन सरकारले केही समय नजरबन्दमा समेत राखेको स्मरण गर्दै कार्यक्रमका वक्ताहरूले समाजमा देखिएको असमानतालाई अन्त्य गर्नका लागि उनी सदैव क्रियाशील भइरहेकी बताएका थिए ।

उनै योगमायाको सम्मान र उनको प्रतिष्ठाको लागि नेपाल सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने चर्चा पनि भइरहेको र कहाँ कुन ठाउँमा खोल्ने भन्ने विषयमा बहस हुन थालेको पनि वक्ताहरूले बताएका थिए ।

योगमाया आयुर्वेदिक विश्वविद्यालय योगमायाको जन्म तथा तपस्यास्थलमा खोल्नुपर्ने आवाज पनि अहिले यस क्षेत्रका बासिन्दाहरूले उठाइरहेका छन् । वास्तवमा भन्ने हो भने योगमाया आयुर्वेद विश्वविद्यालय सही ठाउँमा सही समयमा खोल्न आवश्यक छ । त्यस्तो सही क्षेत्र भनेको अरुण उपत्यका नै भएको सरोकारवालाहरूले बताएका छन् ।

कार्यक्रममा पूर्वसांसद नरेन्द्र बस्नेत, जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास, खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा, उपमेयर डेगेश्वरी श्रेष्ठ, षडानन्द नगरपालिकाका मेयर वीरबल राई, उपमेयर मेरिका राईलगायत सरोकारवालाहरूको उपस्थिति थियो ।

भेलाका वक्ताहरूले योगमाया अरुण उपत्यकाको गौरव भएकाले विश्वविद्यालय यही क्षेत्रमा स्थापना हुुनुपर्ने धारणा राखे ।संघीय सरकारले आव ०७५-७६ को बजेटमा विश्वविद्यालयको स्थापनाको लागि १० करोड बजेट विनियोजन गरेपछि भोजपुरसँगै संखुवासभा, सुनसरी र दाङ, डोटी लगायतका जिल्लाले पनि आफ्नो जिल्लामा योगमाया विश्वविद्यालय स्थापना गरिदिनका लागि सरकारसमक्ष पहल गरिरहेका छन् ।

प्रतिक्रिया