जोखिममा दुई सय पुल

काठमाडौं । नेपालका विभिन्न साना ठूला खोलामा दुई सयवटा पुलहरू छन् । तर, तीमध्ये कैयौँ पुल जीर्ण अवस्थामा छन् भने कैयौँ पूर्णरूपमा बनाउनुपर्ने अवस्थामा छन् । खास गरेर निर्माण कम्पनीहरूले तोकिएको मापदण्डअनुसार निर्माण नगर्ने र अनुगमन गर्ने निकायले राम्रोसँग अनुगमन नगर्दा पुलहरू कमजोर भएका र कैयौँको अवधिसमेत पुगेको छ ।

अझ नेपालमा सडक र पुलहरूमा गुड्ने गाडीको भारवहन क्षमताको अनुगमन नहुने र आफूखुसी बढी भारवहनका मालवाहक साधन चलाउनाले पनि सडक र पुल कमजोर हुने गरेको बताइन्छ ।

पुलहरूको नियमित मर्मतसम्भारको अभाव, बालुवा र गिटी निकालेर नदीको चरम दोहनका साथै कैयौँ पुल पुराना भइसकेका कारण देशभरि रहेका झण्डै दुई सयवटा पुल जोखिममा रहेको सडक विभागको ठहर छ । त्यस्ता पुलहरूको तत्काल मर्मत गर्नुपर्ने सडक विभागका अधिकारीहरूले बताएका छन् । यीमध्ये कतिपय पुललाई ०७२ सालमा गएको भूकम्पले समेत प्रभावित पारेको हुनसक्ने भन्दै त्यसको समेत अध्ययन हुनुपर्ने विज्ञहरूको धारणा छ ।

बनेको लामो समयसम्म अझ चलुञ्जेलसम्म वास्ता नगरिँदा अहिले विभागलाई एकैपटक जनशक्ति र स्रोतको अभाव भएको विभागको भनाइ छ । यसका साथै अहिले देशभर निर्माणाधीन १५ सय नयाँ पुलहरूको गुणस्तरको अनुगमन गर्ने चुनौती पनि थपिएको छ ।

विगतलाई हेर्ने हो भने कैयौँ स्थानमा करोडौँ खर्चेर बनेका पुलहरू बन्दाबन्दै समेत भत्किएका छन् भने कैयाँै बनेको छोटो समयमा नै भत्किने गरेका छन् । यसमा निर्माण कमपनीहरूको चरम लापरबाही हुने गरेको स्रोतको भनाइ छ ।

पुलहरूको मुख्य मर्मतको काम वर्षा सकिएलगत्तै सुरु गर्न सरकारले यो वर्ष झण्डै ७० करोड रुपैयाँ विनियोजन गरेको छ । पुलका जोर्नी र रेलिङसम्बन्धी काम भने सुरु गरिसकिएको बताइएको छ ।

सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापा भन्छन्, ‘सबैभन्दा मुख्य काम भने जगहरूमा असर परेका पुलहरूमा मर्मत गर्नुपर्ने रहेको छ ।’ उनले भने, ‘काठमाडौं उपत्यकादेखि तराईका नदीहरूमाथि रहेका पुलहरूको जगलाई जोगाउने कार्यमा विभाग लागेको छ । जग नै कमजोर भएपछि पुल त जोखिममा पर्ने नै भयो ।’ पुलको लागि महत्वपूर्ण भाग भनेको जग हो ।

सम्बन्धित निकायबाट अनुमति लिएका र आफूखुसी खोलाहरूमा सञ्चालित क्रसर उद्योगका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने नवलपरासीको झरही र तुरिया, रूपन्देहीको तिनाउ, कपिलवस्तुको वाणगंगा, मोरङको गछिया, झापाको कन्काई, बाराको दूधौरा लगायतका नदीमा रहेका पुलले सबैभन्दा बढी जोखिम झेलिरहेको बताइएको छ ।

यी पुलहरूमा वेला–वेलामा सवारीसमेत हिँड्न सक्दैनन् । मुख्य राजमार्गहरूमा रहेका पुलहरूको भारवहन क्षमतालाई समेत समीक्षा गर्नुपर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन् ।

यसमध्ये पुराना भइसकेका बेनी–जोमसोम सडक, मनाङ सडक र पथलैया–ढल्केबर सडकका अधिकांश पुलहरू अब विस्थापित गरिने योजनामा रहेको सडक विभागका अधिकारीहरू बताउँछन् । सडक विभागमा लामो समय काम गरेका अवकाशप्राप्त सहसचिव उमेश झा भन्छन्, ‘हरेक पुलहरू चार–पाँच वर्षमा मर्मत गर्नुका साथै वैज्ञानिक मूल्यांकनसमेत गर्नुपर्छ ।

राजमार्गका थुप्रै पुलहरू ४०–४५ वर्ष पुराना भइसकेकाले र भारसमेत बढिरहेकोले अहिले त्यो झन् बढी महत्वपूर्ण भएको छ ।’ यसले पनि नेपालको पुलहरूको अवस्था कस्तो छ सहजै अनुमान लगाउन सकिन्छ ।

वर्षाका समयमा रसुवागढीको घट्टेखोला पुलमा जग नै देखिने गरी सतहमा समस्या आएपछि प्रबलीकरण गरिएको थियो । यी उदाहरण मात्र हुन्, यस्ता समस्या अन्यत्र स्थानमा पनि वेला वेलामा देखिने गरेको छ । अर्कोतर्फ बाह्रबिसेको साँधी खोलाको पुल बगाएको थियो । कतिपय ठाउँमा पुलहरू भासिएको समेत पाइएपछि सरकारी अधिकारीहरूको ध्यान त्यसमा बढी आकर्षित भएको बताइन्छ ।

नेपाल विभिन्न खोलामा हाल झण्डै २२ सय पुलहरू छन् । नयाँ १५ सय थपिएपछि त्यसको व्यवस्थापनको चुनौती झन् बढी हुने विज्ञहरूको भनाइ छ ।

निर्माण सम्पन्न गर्न नै थुप्रै वर्ष लाग्ने र भौगर्भिक अध्ययनसमेत राम्ररी नगरिने हुनाले पुलहरू छिट्टै कमजोर हुनेगरेको समेत पाइएको विज्ञहरूको भनाइ छ । यसका साथै बालुवा तस्करी र भारवन क्षमतालाई निगरानी गर्ने हो भने नेपालका पुल टिकाउन सकिने विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया