जाँच सरकारीमा प्रसूति निजी अस्पतालमा

इलाम । नेपाल सरकारले स्वास्थ्य संस्था तथा सरकारी अस्पतालमा प्रसूति गराए महिलालाई पोषणबापत सुत्केरी भत्ताको व्यवस्था गरेको छ । महिलाहरूले स्वास्थ्य संस्थामा निमयित जाँच गराई प्रसूतिसमेत गर्न स्वास्थ्य संस्थामा आए भौगोलिक क्षेत्रका एक हजार, १ हजार ५ सय र दुई हजार भत्ता दिने व्यवस्था गरेको छ ।

इलाममा भने यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको पाइएको छ । राज्यको यस्तो व्यवस्थालाई बेवास्ता गर्दै इलामका अधिकांश महिलाहरू भने जिल्ला बाहिरका निजी अस्पतालमा प्रसूति गराउन जाने गरेको पाइएको छ ।

जिल्लाका ५० प्रतिशत महिला जिल्ला बाहिरबाट नै प्रसूति गराउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । कलिलै उमेरमा आमा बन्नेहरूको संख्या उल्लेख्य रहेकाले जोखिम कम हुने भन्दै उनीहरू जिल्ला बाहिरका निजी अस्पताल जाने गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामका पब्लिक हेल्थ नर्स अधिकृत सरिता सुब्बाका अनुसार जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने ८० प्रतिशत महिलामध्ये ५० प्रतिशत महिला जिल्ला बाहिरका अस्पतालबाट प्रसूति सेवा लिने गरेका छन् ।

उनका अनुसार स्वास्थ्य जाँच गराएका मध्ये ३० प्रतिशत महिलाले मात्र जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने गरेका छन् । कम उमेरमा आमा बन्ने अधिकांश महिलाको शल्यक्रियाबाट प्रसूति गराउनुपर्ने जोखिमका कारण पनि जिल्ला बाहिरबाट सेवा लिनेको संख्या बढी देखिएको हो ।

५० शय्याको इलाम अस्पतालमा यतिवेला दक्ष डाक्टरको अभाव कायमै छ । यसले समेत संख्या वृद्धिमा सहयोग पु¥याएको हुनसक्ने नर्स अधिकृत सुब्बाले बताइन् । इलाम अस्पतालमा ६४ जनाको दरबन्दीमा अहिले ३४ दरबन्दी रिक्त रहेको इलाम अस्पताल प्रशासन कार्यालयका नायब सुब्बा रीता अधिकारीले जानकारी दिइन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्यांकअनुसार गत आव ०७४-७५ मा जिल्लामा २० वर्षभन्दा कम उमेरका ७ सय ५० जना महिलाले पहिलोपटक गर्भ जाँच गराएका छन् । यीमध्ये ३ सय ३ जना महिलाले मात्र इलामका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका छन् । ४ सय ४७ ले जिल्ला बाहिरबाट प्रसूति सेवा लिएको पाइएको छ ।

यस्तै, अघिल्लो आवमा २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको संख्या जिल्लामा ३ सय ३३ जना र सो उमेर माथिको संख्या २ हजार १ सय २६ जना रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया