नजिकिए शाहरुख–सलमान

मुम्बई । एकताका निकै शत्रुता साँध्दै आएका बलिउड सुपरस्टारद्वय शाहरुख खान र सलमान खानबीच आजकल निकै मेलमिलाप छ ।

एक–अर्कालाई देखिनसहने उनीहरू अहिले एकाएक नजिकका मित्र भएका छन् । केही दिनअघि हालै सलमानले आफ्नो एक टेलिभिजन कार्यक्रममा शाहरुखलाई बोलाए । शाहरुखले पनि उनको प्रस्तावलाई सहजै स्वीकार गरे । शाहरुखको चलचित्र ‘जिरो’ मा केमियो भूमिकामा सलमान देखिएका छन् ।

उक्त टिभी कार्यक्रममा शाहरुखले सलमानको निकै प्रशंसा गरे । आफ्नो व्यस्त कार्यतालिकाका बीच सलमानको सोमा आएको शाहरुखले जनाए ।

शाहरुखले आफ्नो विगतको संस्मरण गर्दै आफूले संघर्ष गरिरहेका बेला सलमानको परिवारले निकै सहयोग गरेको बताए । उनले भने, ‘त्यतिवेला मैले धेरै दिनसम्म सलमानको घरमा खाना खाएको थिएँ । सलमानको बुवाले मलाई निकै माया गर्नुहुन्थ्यो ।’

उक्त सोमा अभिनेत्री रानी मुखर्जीलाई पनि बोलाइएको थियो । रानीले भने रमाइलो गर्न खोजिन् । उनले शाहरुख र सलमानलाई आँखा जुधाउन भनिन् । तर, उनीहरू दुवैले अप्ठेरो मानेर आँखा चिम्लिए । शाहरुखले ठट्टा गर्दै भने, ‘म एकदम रोमान्टिक मान्छे छु, आँखा जुधायो भने सलमानसँग मेरो प्रेम बस्न सक्छ ।’

प्रतिक्रिया