सरकारले नयाँ श्रम ऐन लागू गरे पनि चिया मजदुरले न्यूनतम ज्याला नपाएको भन्दै प्रदेश–१ का चिया मजुदरले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत १८ देखि २२ भदौसम्म सबै चिया बगान तथा कारखानाहरूमा ‘श्रम ऐन २०७४ कार्यान्वयन गर, वृद्धि भएको न्यूनतम पारिश्रमिक लागू गर’ भन्ने ब्यानर र कालो झण्डा राख्दै कोणसभाको आयोजना गर्ने, २३ भदौ बिहान ११ बजे बिर्तामोडमा बृहत विरोध र्यालीसहित प्रदर्शन गर्ने बताएका छन् ।
सोही अवधिमा पनि सरकारले चिया मजदुरका माग पूरा नगरे २३ भदौपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तामाङले बताए । चिया बगानका स्थायी श्रमिक र अस्थायी, ज्यालादारी, मौसमी श्रमिक बीचको विभेदलाई अन्त्य गर्दै सरकारले नयाँ श्रम ऐन २०७४ मा मजदुरलाई ५ सय १७ रुपैयाँ र बिमा सहितको थप सेवा सुविधा दिने व्यवस्था लागू गरेको हो ।
न्यूनतम ज्याला तोक्दा पनि चिया बगान मालिकले सो ऐनको पालना नगरी चिया मजदुरमाथि विभेद गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनको भनाइ छ । गत १२ भदौमा पूर्वको मेची र कोसीका चिया उत्पादन हुने जिल्लाका प्रशासन कार्यालयको ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाए पनि हालसम्म माग पूरा नभएको तामाङले गुनासो गरे ।
पूर्वमा चिया बगानमा चिया टिप्ने सिजनमा ५५ देखि ६० हजार चिया मजदुरले काम गर्दै आइरहेका छन् । नियमित रूपमा २५ हजार मजदुर चिया बगान र चिया उद्योगमा काम गरिरहेका छन् । आठ घण्टा काम गरेबापत मालिकले दैनिक २ सय ७८ रुपैयाँ मात्र ज्याला दिइरहेको मजदुरको गुनासो छ ।
यता सरकारविरुद्ध नेपाल चिया उत्पादक संघ झापाले कठोर कदम चाल्ने तयारीमा छ । श्रम ऐन २०७४ सच्याउन सरकारलाई पटकपटक आग्रह सहितको ज्ञापनपत्र बुझाउँदासमेत चिया उद्योगीको मागलाई सम्बोधन नगरेपछि चिया उत्पादक संघ कठोर कदम चाल्ने तयारीमा रहेको संघका अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिए ।
‘सरकारको ध्यानाकर्षण गराउँदासमेत माग सम्बोधन नभएकाले अब चिया उद्योगका सञ्चालकहरू तालाचाबी सरकारलाई बुझाउने अन्तिम तयारीमा छौँ’, उनले भने, ‘सरकारले तोकेको श्रम ऐन अन्य उद्योगसरह चिया क्षेत्रमा लागू गर्न सकिँदैन ।’ यो ऐन लागू गर्दा चिया उद्योगीलाई ८० प्रतिशत व्ययभार थपिने उनले बताए ।
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटामा चियाखेती सुरु गरेसँगै झापामा पनि चियाखेतीको सुरुआत भएको थियो । नेपाली चिया उत्पादन तथा प्रशोधनका लागि सरकारी स्तरबाट ०२३ साल २३ असोजमा नेपाल चिया विकास निगमको स्थापना गरेर चिया खेतीको व्यावसायिकतालाई विश्व बजारसम्म पुर्याउन पहल भएको पाइन्छ ।
तत्कालीन राजा वीरेन्द्र शाहले पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरी चिया खेतीको समग्र विकासलाई महत्व दिएसँगै झापामा चिया खेतीले व्यावसायिकता पाएको हो । नेपालमा मूलतः सिटिसी, अर्थाेडक्स र ग्रिन टी उत्पादन हुँदै आएको छ । जसमध्ये सबैभन्दा धेरै चिया उत्पादन झापामा हुने गरेको राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
बिर्तामोडमा व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदन सार्वजनिक गर्दै विभागका निर्देशक बद्री कार्कीले सबैभन्दा धेरै चिया उत्पादन हुने क्षेत्र झापा भएको जानकारी दिए । उनले देशभरका ७७ जिल्ला मध्ये १४ जिल्लामा मात्र व्यावसायिक रूपले चिया खेती हुँदै आएको बताए । उनका अनुसार झापामा व्यक्तिगत तथा साना किसान १ हजार ५ सय ३२ र संस्थागत तथा ठूला बगान ६९ वटा रहेका छन् ।
जसमा कुल खेतीयोग्य जमिनको ७ हजार १ सय ९५ दशमलव १५ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ ।’ विभागका निर्देशक कार्कीले भने, ‘झापामा मात्रै ८ करोड २५ लाख १७ हजार केजी चिया उत्पादन हुँदै आएको छ ।’ देशभरका ९ हजार २ सय ३६ कृषक तथा व्यवसायीहरुले १२ हजार ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको बताइन्छ ।
व्यावसायिक चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये एक हेक्टरभन्दा कम क्षेत्रफलमा ८२ दशमलव ३ प्रतिशत किसानले चिया खेती गर्दै आएका छन् । त्यस्तै एक हेक्टरभन्दा माथि १० हेक्टरसम्म १६ दशमलव ५ प्रतिशत, १० हेक्टरभन्दामाथि २० हेक्टरसम्म शून्य दशमलव ४ प्रतिशतले र २० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गर्ने किसानको संख्या शून्य दशमलव ८ प्रतिशत रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड केन्द्रीय कार्यालयको तथ्यांकमा उल्लेख छ ।
नेपालका ११ हजार ४१ वटा बगानहरूमा चिया खेती गरिँदै आएको छ । जसमध्ये सबैभन्दा धेरै इलाममा ६ हजार ९ सय ९५, झापामा १ हजार ६ सय ३१ र सबैभन्दा कम सिन्धुपाल्चोकमा ८ वटा मात्र बगान रहेको बताइएको छ । विभागका तथ्यांक अधिकृत किशोर केसीका अनुसार अझै पनि नेपालमा ५९ प्रतिशत मानिसले परम्परागत रूपमा चिया खेती गर्दै आएका छन् ।
जसमा झापामा मात्रै ९८ दशमलव ६ प्रतिशतले परम्परागत रूपमा ६ हजार ५ सय ३४ दशमलव २ हेक्टर क्षेत्रफलमा चिया खेती गरिरहेको अधिकृत केसीले जानकारी दिए । उनका अनुसार इलाममा ५७ प्रतिशत किसानले १ हजार ८ सय ८१ हेक्टरमा परम्परागत शैलीमा चिया खेती गर्दै आएका छन् । नेपाली चियालाई विश्व बजारमा प्रतिस्पर्धी रूपमा उतार्नका लागि किसानले प्रांगारिक खेतीमा अग्रसरता देखाउन सुरु गरेको अधिकृत केसीले बताए ।
उनले भने, ‘झापामा १ दशमलव ४ प्रतिशत र इलाममा २७ प्रतिशत किसानले प्रांगारिक खेती सुरु गरेका छन् ।’ रासायनिक मलका कारण नेपाली चियाले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकेका भन्दै उनले किसानहरू प्रांगारिक खेतीतर्फ उन्मुख भएको बताए ।
नेपालका ३० प्रतिशत चिया कृषक तथा व्यवसायी प्रागारिक खेतीतर्फ उन्मुख रहेका छन् । नगदेवालीको रूपमा रहेको चिया खेतीबाट कृषक तथा व्यवसायीले हरियो पत्ती बिक्री गरेर वार्षिक रूपमा १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ आम्दानी गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये ४ दशमलव ५ प्रतिशतले मात्रै आफ्नो चिया खेती व्यवसाय दर्ता गरेर सञ्चालन गर्दै आएको पाइएको छ । झापामा ११ दशमलव ७ प्रतिशत र इलाममा २ दशमलव ५ प्रतिशतले मात्रै चिया व्यवसाय दर्ता गरेर सञ्चालन गरेको बताइन्छ ।तथ्यांक सार्वजनिक गर्दै साना चिया किसान तथा ठूला चिया व्यवसायीहरूको सुझावसमेत संकलन गरिएको छ ।
चिया किसानहरूले हरियो पत्तीको उचित मूल्य पाउन नसकेको, बिरुवा, मलखाद, मेसिनरी औजार आदिमा सरकारले अनुदान नदिएको, बिक्री वितरणमा उचित बजार नपाएको, चिया खेतीका लागि सिँचाइको प्रबन्ध नभएको, सहुलियतपूर्ण ऋण उपलब्ध नभएको, अक्सन बजारको व्यवस्था नभएको तथा सरकारी चिया नीति कार्यान्वयन नभएको भन्दै तथ्यांक विभागको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया